आमा

 ~ शोभा पाण्डेय/सिलवाल

हामीलाई जन्म दिने ,जिउँदी आमा देवी

अहोरात्र खट्छिन् ,सधैं  बनाउन वेदी ।

निस्वार्थ कै प्रतिमूर्ति , आमा तिमी महान्

सर्वार्थकी सागर तिमी,छौ नि साह्रै बलवान् ।

गाँस ,बास,कपास,बनी सन्तानका लागी

थङथिलो हुँदा पनि जान्नन् कतै भागी ।

सामाजिक ,मानसिक,शारीरिक रूपमा

सुदृढ पार्न सधैँ तत्पर, हुने हाम्री आमा ।

आफ्ना लागि केही नमाग्ने,आमा हाम्रा लागि

जो सँग नि झुक्छिन् उनी, आत्मसम्मान त्यागी ।

काँडैकाँडा घारी बिचमा, फुल्ने मेरी आमा

सृष्टि कै सुन्दर नाता , हौ नि तिमी  आमा ।

खलिफा हौ जीवनकी, कल्पवृक्ष तिमी

तिम्रै काखमा रमाउँछौँ, जीवन भर हामी ।

खोलेफाँडो  आफू खाई,खिर हाम्लाई खुवाउँदा

पाप लाग्छ ती सन्तानलाई,  जननीलाई रुवाउँदा ।

सरापभित्र आशिष् अनि ,गालीभित्र ताली

कसैबाट नपाइने, दिने सन्तान वाली ।

आशिर्वाद देऊ आमा ,असल भएस् जहिल्यै

अरू कुरा फेरि पाइन्छ, आमा पाइन्न कहिल्यै  ।

सफल यति बन्छु आमा,हर्षाश्रु झार्ने

कर्म गर्छु अवश्य नै, संसारलाई  तार्ने ।

कोसौँ दूर भए पनि ,सन्ताप मेरै गर्ने

कालैसँग लड्न परे ,पनि अघि सर्ने ।

बोली मलिन सुनेर नै, पीडा मनको बुझ्ने

एकै वचन बोल्दा पनि ,कष्ट जति हर्ने ।

अखण्ड दीप आमा हुँदा,  घर उज्यालो  हुने

बेघर नहुन् कोही पनि ,हाम्लाई जन्माउने ,हाम्लाई जन्माउने ।


ताजा खबर