भारत र चीनबीच कैलाश मानसरोवर यात्रा फेरि सुरु गर्ने सहमति भएको छ । यो सहमति यस वर्षको गर्मी मौसमदेखि लागू हुने अपेक्षा गरिएको छ। यससँगै सिधा उडान सेवाको पुनः सुरुवात पनि हुने जानकारी प्राप्त भएको छ। यद्यपि, यात्रा र उडान सेवाको सुरु हुने मिति अझै तोकिएको छैन।
भारतीय विदेश सचिव विक्रम मिस्त्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा भएको दुई दिने बैठकमा यी निर्णयहरूमा सहमति भएको जनाइएको छ। सन् २०२० देखि भारत र चीनबीचको कैलाश मानसरोवर यात्रा र सिधा हवाई सेवा बन्द भएको थियो, जसको कारण सीमा विवाद र कोभिड महामारी रहेको थियो।
पछिल्लो समय भारत र चीन आपसी सम्बन्ध सुधार गर्ने प्रयासमा देखिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले गत वर्ष अक्टोबरमा कजानमा भेटेर आपसी सम्बन्धको अवस्थाबारे छलफल गरेका थिए, र केही कदम चाल्न सहमति जनाउनुभएको थियो । रासस