भागबण्डा नमिल्दा कांग्रेस बैठक बस्न सकेन

बरिष्ठ नेता रामचन्द्र पौडेलले लगातार बैठक बहिष्कार गरे पछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्न सकेको छैन ।

२६ मंसीरमा बोलाइएको बैठक नेता पौडेल सँगै पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले समेत बहिष्कार गरेका थिए । बहिष्कारका बीच सभापति शेरबहादुर देउवाले विभाग गठन र भातृ संस्थाबारे प्रस्ताव पेश गरेका छन् । तर, निर्णय हुन भने सकेको छैन ।

नेता पौडेल र सिटौला मनाउन सभापति देउवाले वार्ता समितिको विकल्प अगाडि बढाएका छन् । तर, वार्ता समितिको प्रयासले समेत कांग्रेसमा सहमति जुट्न सकेको छैन ।

सहमति जुट्न नसके पछि बुधबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक समेत स्थगित गरिएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको छ ।

स्रोतका अनुसार, नेवि संघको कार्यदल गठनबारे सहमति जुट्न सकेको छैन । पौडेल पक्षले अध्यक्ष, उपाध्यक्ष, महामन्त्री सहित पदाधिकारी भागबण्डाको प्रस्ताव गरेको छ ।

संस्थापन पक्ष पनि पौडेलको प्रस्तावमा सहमत भए पनि अध्यक्ष र महामन्त्री दुवै छोड्न तयार नहुँदा कुरा मिल्न सकेको छैन । पौडेल पक्षले अध्यक्ष सहित बहुमत केन्द्रीय सदस्य राखेर आफूलाई महामन्त्री, सिटौलालाई उपाध्यक्ष र विजयकुमार गच्छेदारलाई कोषाध्यक्ष दिन प्रस्ताव गरेको छ ।


ताजा खबर