गोरखाको धार्चे गाउँपालिकामा आज धुमधामका साथ मकै विवाह गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ स्थित लाप्राकमा मकैको बिहे गरिएको वडाध्यक्ष किसान गुरुङले जानकारी दिनुभयो । धार्चेका बिभिन्न गाउँमा बारीमा रोप्नु अघि मकै बिहे गर्ने परम्परा छ ।
बाजागाजा, नाचगानसहित घाटु कन्या र कुमारलाई डोलीमा बोकेर दिनभर गाउँ र आसपासको बारी परिक्रमा गरेपछि जन्ती गाउँमा पुगेर भुटेको मकैको भोज भतेर खाने गरिन्छ ।
मकै बिहे नगरी बारीमा रोप्नु हुन्न भन्ने धार्मिक, सांस्कृतिक मान्यता रहेको स्थानीयको भनाइ छ । लाप्राकका सवै गाउँले मिलेर धुमधामका साथ मकै बिहे गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
जिल्लाको धार्चे गाउँपालिका भित्रका लाप्राक, गुम्दा, लापुलगायतका गाउँमा परापूर्व कालदेखि नै मकै विवाह गर्ने चलन छ ।
गाउँभन्दा केही पर जंगलमा छाप्रो बनाएर घाटु कन्यालाई लुकाएर राखिन्छ, अनि जन्ती त्यहाँ पुगेर कन्या र कुमारलाई डोलीमा बोक्दै ढ्यांग्रो, मादल र झ्याली लगायतका बाजागाजासहित नाचगान गर्दै गाउँमा फर्किने परम्परा रहेको वडाअध्यक्ष गुरुङले जानकारी दिनुभयो।
जन्तीले ती कन्यालाई लिएर पुनः बाजागाजासहित लाप्राक गाउँको परिक्रमा गर्छन ।
जन्ती जाँदा आफ्नो घरबाट लगेको एक-एक घोगा मकै एकै ठाउँमा थुप्रो लगाउने र त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ ।
यही मकैलाई अरू बिउमा मिसाएर गाउँका सबै किसानले बारीमा रोप्ने प्रचलन रहेको छ । रासस