नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । यो लगातार तेस्रो पटकको ‘डबल ए प्लस’ रेटिङ हो । प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वलगायतको विश्लेषण गरी रेटिङ गरिएको प्राधिकरणले जनाएको छ ।
‘डबल ए प्लस’ रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहने र त्यस्तो संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुने जनाइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तीन वर्षदेखि निरन्तर ‘डबल ए प्लस’ रेटिङ प्राप्त गर्न सफल भएको र यसबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो एवं ऋण तिर्न सक्ने क्षमतामा सक्षमता देखिएको बताउनुभयो । साथै प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग वहन गर्न सक्ने क्षमतामा देखिएको घिसिङले उल्लेख गर्नुभयो ।
सर्वसाधारणलाई सेयर निष्कासनका लागि महत्वपूर्ण मापदण्डका रूपमा रहेको संस्थाको रेटिङ सम्पन्न भइसकेको र वास्तविक सम्पत्ति मूल्याङ्कन गरिसकेका उल्लेख गर्दै उहाँले सरकारबाट स्वीकृति पाउनासाथ सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउन सकिने जनाउनुभयो । उहाँका अनुसार सेयर निष्कासनबाट सङ्कलन गरिएको रकम ठुला जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने योजना छ ।
उहाँले विद्युत् उत्पादनतर्फका आयोजना निर्माण र विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि आवश्यक ठुलो पुँजी संस्थाले कमाएको नाफा र सेयर निष्कासनबाट प्राप्त हुने रकमबाट पूरा गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।
प्राधिकरणको चुक्ता पुँजी करिब तीन खर्ब रुपियाँ कायम गरी त्यसको बढीमा २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी प्राथमिक सेयर सर्वसाधारणलाई निष्कासन प्रस्ताव गरिएको छ । प्रिमियमसहित प्रतिकित्ता मूल्य करिब तीन सय रुपियाँ कायम गरी सेयर निष्कासनको प्रस्ताव गरिएको हो । प्राधिकरणको वार्षिक आम्दानी एक खर्ब १६ अर्ब र सम्पत्ति सात खर्ब रुपियाँभन्दा बढीको छ ।
आर्थिक वर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपियाँ खुद नोक्सानीमा रहेकोमा २०७३/७४ मा एक अर्ब ५० करोड रुपियाँ खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरु गरेको दाबी गरेको छ । प्राधिकरणले गत आव २०८०/८१ मा १४ अर्ब ४६ करोड रुपियाँ नाफा कमाएको थियो । आव २०७२/७३ मा ३४ अर्ब ६१ करोड रुपियाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपियाँ सञ्चित नाफामा पुगेको छ । प्राधिकरणले गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२.७३ प्रतिशतमा झरेको थियो । आव २०७२/७३ मा प्रणालीबाट २५.७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो । रासस