प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पाउने प्रतिभालाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले पुरस्कार पाउने सबैको प्रशंसा गर्नुभएको हो ।
“नेपाली माटोलाई गौरवान्वित पार्ने प्रतिभालाई हार्दिक बधाई ! तपाईंहरूको लगन, परिश्रम र योगदानलाई सलाम !” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।
उहाँले आफूलाई युनिभर्सल पिस फेडेरेसन, कोरियाले सन् २०१८ डिसेम्बरमा “लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड” एक लाख अमेरिकी डलरको पुरस्कार प्राप्त भएको थियो र उक्त राशिमा त्यति नै थप गरी अक्षयकोष स्थापना गरेर हरेक वर्ष राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ ।
प्रधानमन्त्री ओलीका अनुसार पहिलो पटक चिकित्सक डा सन्दुक रूइत, कृषि उपकरण अन्वेषक रदी मिया र मादकपदार्थ सेवन गरी चलाएको सवारीसाधन आफैँ रोकिने प्रविधिका अन्वेषक विकल्प ढुङ्गाना पुरस्कारबाट सम्मानित हुनुभएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । सरकारले पहिलो पटक २०७६ सालमा पहिलोपटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएको थियो ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो ।
टेलिमेडिसिन क्षेत्रतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा)ले पुरस्कृत घोषित हुनुभयो ।
यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओम मूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत हुनुभयो ।
नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।
प्रत्येक वर्ष दुई जना प्रतिभालाई जनही रू पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भए पनि कोरोना महामारीका कारण २०७७ सालदेखि उक्त पुरस्कार वितरण हुन सकेको थिएन । सरकारले हिजो बुधबार एकै पटक पाँच वर्षको पुरस्कार १० जनालाई दिने घोषणा गरेको हो । रासस