एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ यही फागुन १५ देखि पोखरामा आयोजना हुने भएको छ ।
बुकवर्म फाउन्डेसन को आयोजनामा यही फागुन १८ गतेसम्म सञ्चालन हुने बाह्रौँ संस्करणको उक्त फेस्टिभलमा शब्दहरूको उत्सव, स्रष्टाहरूको महोत्सव, विविध विषय र विचारमा छलफल हुने भएको शुक्रबार पोखराको फिस्टेल लजमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
पोखराको लेकसाइड स्थित बाराहीघाटमा हुने उक्त फेस्टिभलमा देश–विदेशका साहित्यानुरागीको जमघट हुने आयोजक केशवशरण लामिछानेले बताउनुभयो ।
सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभल आयोजना हुन थालेपछि नेपालमा वार्षिक रूपमा दर्जनौँ साहित्यिक महोत्सव हुन थालेको फेस्टिभलका निर्देशक अजित बरालले बताउनुभयो । यही फागुनमा मात्र नेपालमा सात ओटा साहित्यिक महोत्सव हुने उहाँले जनाउनुभयो ।
यस पटक फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने छ । त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश गरिएको लामिछानेले जनाउनुभयो ।
फेस्टिभलको औपचारिक उद्घाटन नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुहुने भएको आयोजकले जनाएको छ ।
यस पटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत प्रवचनसँगै फेस्टिभल सुरु हुने तयारी गरिएको छ । उहाँ इन्दिरा गान्धी ओपेन युनिभर्सिटी (आईजीएाओयू) को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुनुहुन्छ । फेस्टिभलमा ६ वर्षीया भूमिलक्ष्मी पराजुलीदेखि ८९ वर्षीय मोहनविक्रम सिंहसम्मको पुस्तकको चर्चा हुने भएको छ ।
विद्वत् प्रवचन लगत्तै अध्यात्म र सङ्घर्षमाथि मनीषा कोइराला र विजय कुमारको विशेष संवाद आकर्षणको केन्द्र बन्ने बुकवर्म फाउन्डेसनको विश्वास छ । यसैगरी नेपाली सिनेमाका महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हुने भएको छ ।
सिर्जनाको अर्को विधा चित्रकला सधैँ फेस्टिभलको आकर्षण बन्दै आएको छ । यस संस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीमा राखिनेछन् ।
विश्व प्रसिद्ध भारतीय लेखक शशि थरूरको पुस्तक ‘ह्वाइ आई एम अ हिन्दू’को नेपाली संस्करण लोकार्पणसँगै फेस्टिभलको साङ्गे हुनेछ । भारतीय राजनीति, इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक तथा चर्चित लेखक थरूरका कैयौँ पुस्तकले विश्वव्यापी चर्चा पाएका छन् । रासस