बेलायती प्रधानमन्त्री केयर स्टारमरले जारी रुस युक्रेन युद्ध अन्त्य गर्न र रुसबाट युक्रेनको रक्षा गर्न चार बुँदे योजना घोषणा गर्नुभएको छ ।
बेलायत, फ्रान्स र अन्य देशहरूले इच्छुकहरूको गठबन्धन गर्दै आफ्नो प्रयासलाई तीव्र पार्नेछन् र युक्रेनको समर्थनमा अमेरिकालाई सामेल गर्ने प्रयास गरिने जनाइएको छ ।
बेलायतको राजधानी लण्डनमा भएको युरोपेली नेताहरुको शिखर सम्मेलनमा युरोपेली एकतामा जोड दिइएको छ । लामो समयपछि युरोपेली एकता उच्च स्तरमा देखिएको टिप्पणी गरिएको छ ।
युरोपका १८ नेताहरु सहभागी सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी हुनुहन्थ्यो । जेलेन्स्कीले युरोपबाट बलियो समर्थनको महसुस गर्नुभयो ।
ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिबाट अपमानित भएपछि लण्डन पुग्नु भएका जेलेन्स्कीले राहतको महसुस गर्नुभएको विश्लेषण गरिएको छ । रोयटर्स