प्रतिनिधि सभाको आजको बैठकले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई पारित गरेको छ ।
बन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले बैठकमा प्रस्तुत गर्नुभएको मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
यस्तै बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङले आम सञ्चार परिषद् विधेयक २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले उपभोक्ता अदालतको गठन सम्बन्धी सूचना टेबुल गर्नुभयो ।
यसअघि प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको र कुनै पनि प्रतिगमन वा षड्यन्त्रका विरुद्ध सबै दलसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
कांग्रेस महामन्त्री थापाले ठूलो सङ्ख्यामा युवा सडकमा उत्रिनु व्यवस्था विरोधी चेतावनी भएकाले यसलाई नजरअन्दाज गर्न नहुने र अहिले नागरिक तहमा देखिएको असन्तुष्टिको कारणलाई गम्भीरतासाथ लिएर सुधारका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।
नेकपा एमालेका नेता एवं सांसद गोकर्ण विष्टले लोकतन्त्र प्राप्तिका लागि सहकार्य तथा योगदान गर्ने शक्तिले सहिदको बलिदानीबाट प्राप्त उपलब्धिलाई जोगाउन गम्भीरताका साथ समीक्षा र हातेमालो गर्न जरुरी रहेको पनि धारणा राख्नुभयो ।
यस्तै बैठकमा सांसदहरुले विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोधमा आवाज उठ्नुका पछाडि यसअघि र हालका सरकारको कमजोर कार्यशैली जिम्मेवार रहेको आरोप लगाउनुभयो ।
बैठकमा सांसदहरुले सडकमा असन्तुष्टि बढेको विषयमा समयमा नै ध्यान दिनुपर्ने, एसइई परीक्षा नजिकिएको समयमा शिक्षकहरू आन्दोलनमा रहेको भन्दै छिटो वार्ता मार्फत समस्या समाधान गर्नुपर्ने, किसानका समस्या समयमा नै समाधान गर्नुपर्ने माग गर्नुभयो । रासस