प्रधानमन्त्री ओलीद्वारा फागु पूर्णिमाको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले हर्ष र उमंगको क्रीडापर्व फागु पूर्णिमाको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले बसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मान्ने गरिएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ–

आज फागु पूर्णिमा, यसलाई हामी होली पर्वका रूपमा मनाउँछौं। वसन्त ऋतुको यस पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ । शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्छन्, चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउँछ।

फागु पूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ। हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको छ। मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ– यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ।

हर्ष र उमङ्गको क्रीडापर्व फागु पूर्णिमाको सबैलाई शुभकामना !

ह्याप्पी होली !


ताजा खबर