यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ।
होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन शुक्रवार जनकपुरधाममा सो घोषणा गरिएको हो।
रङको र खुसीको पर्व होलीका अवसरमा जनकपुरधामस्थित मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ । कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिँदै आएको छ ।
सो कार्यक्रमको माध्यमबाट मिनापले मिथिलाको कला र संस्कृतिको संरक्षणमा योगदान पुर्याउँदै आएको मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले बताए । उहाँका अनुसार होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न यो कार्यक्रम आयोजना गरिन्छ ।
मल्लिकले भने, ‘मिथिलाञ्चलमा जोगिरा गीत सुनिन लगभग बन्द भएको छ र भोजपुरी गीतको प्रभुत्व बढिरहेको बेला मिनापले पुरानो संस्कृतिलाई बचाउन होली महोत्सव र महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।’
‘महामूर्ख’ उपाधि २०६१ सालदेखि दिन थालिएको हो । रासस