भारतीय दूतावासमा स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाइयो

काठमाडौँस्थित भारतीय राजदूतावासमा शनिवार २३ औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाइयो जसमा छात्रवृत्तिद्वारा समर्थित लगभग २०० विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

स्वर्ण जयन्ती छात्रवृत्ति दिवस समारोहको उपलक्ष्यमा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष डा. देवराज अधिकारी; काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. अच्युत वाग्ले; राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. अमरप्रसाद यादव; पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजु कुमार थपलिया; मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. ध्रुव कुमार गौतम; बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी; र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. शारदा थपलियाले उपस्थिति जनाउनुभएको थियो । कार्यक्रममा विभिन्न संस्थानका डीनहरू र प्रख्यात विद्यालयका प्रधानाध्यापकहरूको पनि उपस्थिति रहेको थियो ।

नेपालका लागि भारतीय राजदूत  नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका दोस्रो ब्याचका मेधावी विद्वानहरुलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गर्नुभयो ।

राजदूत श्री वास्तवले आफ्नो मन्तव्यमा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाको २३ औँ ब्याचका पुरस्कृतहरूका  साथै राजदूतको रोल अफ अनरको दोस्रो संस्करणका मेधावी विद्यार्थीहरूलाई पनि बधाई दिनुभयो । उहाँले विद्यार्थीहरूलाई आ-आफ्नो क्षेत्रमा उत्कृष्टताको लागि प्रयास गर्न प्रोत्साहन गर्नुभयो र भारतको स्टार्टअप इकोसिस्टम, इन्क्युबेशन सेन्टरहरू र अन्य सहकार्यका पहलहरूमा हुने संलग्नता मार्फत उपलब्ध हुने व्यापक अवसरहरूमाथि प्रकाश पार्नुभयो ।

 भारत-नेपाल आर्थिक सहयोगको ५० वर्षको स्मरणमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको थियो । हाल सम्म छात्रवृत्ति प्राप्त गर्नेहरूको सङ्ख्या वार्षिक रूपमा २०० जना पुगेको छ । यस छात्रवृत्ति योजनाबाट नेपालका सबै ७७ जिल्लाबाट ३५०० जना भन्दा बढी नेपाली विद्यार्थीहरू लाभान्वित भएका छन् । अहिलेको ब्याचमा छात्रवृत्ति प्राप्त गर्नेहरू नेपालका ७५ जिल्लाबाट रहेका छन् जसमध्ये एक तिहाइ छात्राहरू रहेका छन् । यस वर्ष ०३ जना भिन्न क्षमता भएका विद्यार्थीहरू पनि छनोट भएका छन् ।

भारत सरकारले प्रत्येक वर्ष इन्जिनियरिङ, चिकित्सा, दन्त विज्ञान, व्यवस्थापन, वाणिज्य, नर्सिङ, आयुर्वेद, नृत्य, रङ्गमञ्च र प्रदर्शन कला लगायत विभिन्न क्षेत्रहरूमा नेपाली विद्यार्थीहरूलाई लगभग १,५०० छात्रवृत्ति प्रदान गर्ने गरेको छ । यी छात्रवृत्तिहरूले विद्यार्थीहरूलाई भारतका शैक्षिक संस्थानहरूमा पहुँच प्रदान गर्दछ र उनीहरूलाई नेपालमा स्नातक कोर्सहरूका साथै स्नातक, स्नातकोत्तर र विद्यावारिधि कार्यक्रमहरूमा शिक्षा हासिल गर्न सहयोग गर्दछ । सन् २००१ यता भारत सरकारको तर्फबाट नेपालका लागि भएका विभिन्न छात्रवृत्ति पहलहरूबाट लगभग ४०,००० विद्यार्थीहरू लाभान्वित भएका छन् ।

भारत र नेपालबिच रहेको शैक्षिक सहयोग, क्षमता निर्माण र शैक्षिक साझेदारीले दुई देशबिचको दिगो मित्रतालाई थप गहिरो बनाउनुका साथै नयाँ सम्बन्धहरूलाई प्रवर्द्धन गरी जनता-जनताबिचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लगेको छ । छात्रवृत्ति र क्षमता निर्माण कार्यक्रमका पहलहरूले नेपालको प्रगति, ज्ञान र साझा समृद्धिको लागि मानव संसाधन विकासमा साझेदारी गर्ने भारतको प्रयासको अभिन्न अङ्गको रूपमा कार्य गरेको काठमाडौँ स्थित भारतीय दूतावासव्दारा जारी विज्ञप्तिमा उल्लेख छ ।


ताजा खबर