महिला र नवजात शिशुको पोषणमा महत्त्वपूर्ण उपलब्धि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालले नवजात शिशु तथा गर्भवती महिलाको पोषण सुधार र बहु क्षेत्रीय सहकार्यमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेको बताउनुभएको छ ।

फ्रान्सको राजधानी पेरिसमा आयोजित न्युट्रिसन फर ग्रोथ पेरिस २०२५ मा सम्बोधनका क्रममा मन्त्री पौडेलले पछिल्ला दुई दशकमा नेपालले पाँच वर्ष मुनिका बालबालिकामा हुने पुड्कोपनामा ३२ प्रतिशत कमी ल्याएको उल्लेख गर्नुभयो । सन् २००१ मा नेपालमा ५७ प्रतिशतमा समस्या देखिए पनि हाल यो २५ प्रतिशतमा घटेको सरकारी तथ्याङ्क छ ।

गर्भवती महिलाहरूलाई आइरन र फोलिक एसिड पूर्तिका लागि सरकारले दिने चक्कीका कारण यसको उपलब्धतामा ६५ प्रतिशत वृद्धि भएको पनि उहाँले उल्लेख गर्नुभयो ।

नेपालमा ६ प्रतिशत गर्भवती महिलामा आइरन र फोलिक एसिडको पूरकता रहेकामा हाल यसमा वृद्धि भएर ७१ प्रतिशत पुगेको छ ।

‘‘यी दुवै क्षेत्रमा हामीले महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छौं,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘यस कार्यक्रमलाई समुदायस्तरमै पुर्‍याउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र सरकारहरूबिचको समन्वयको भूमिका महत्त्वपूर्ण छ ।’’

मन्त्री पौडेलले विद्यालयमा बालबालिकालाई पोषक आहारा तथा नगद सहायताका अलावा गर्भवती महिला तथा नवजात शिशुलाई भिटामिन ए पूर्ति, आइरन चक्की जस्ता कार्यक्रमजस्ता नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो ।

नेपालले बालबालिकामा आयोडिनको आपूर्ति, शिशु आहारा तथा समुदायमा आधरित कुपोषण व्यवस्थापन आदिजस्ता कार्यक्रममा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको चर्चा गर्दै मन्त्री पौडेलले भन्नुभयो, ‘‘यसमा सरकारलाई सहयोग गर्ने दाताहरूको साथ समेत महत्त्वपूर्ण छ ।’’

पोषण सुधार अभियानको सदस्यका हैसियतमा नेपाल सरकारले पोषणमा आधारित योजना बनाएको चर्चा गर्नुहुँदै मन्त्री पौडेलले मातृ शिशु पोषण सुधारमा नागरिक तहसम्मै सचेतना तथा सेवा प्रवाहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको साथ महत्त्वपूर्ण रहेको बताउनुभयो ।

मन्त्री पौडेलले स्थानीय स्वयंसेविकाको क्षमता अभिवृद्धिमा न्यून कार्यक्रम, बजेटमा कमी तथा विभिन्न क्षेत्रको सहकार्य चुनौती भने नेपालसामु रहेको उल्लेख गर्नुभयो ।

नेपालको मातृ शिशु पोषण सुधारको अनुभवले बहुक्षेत्रीय सहकार्य, सामुदायिक संलग्नता तथा दिगो राजनीतिक प्रतिबद्धताले कुपोषण को समस्या सम्बोधन गर्न भूमिका खेलेको अनुभव मन्त्री पौडेलले सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायसँग साझा गर्नुभयो ।

सम्मेलनमा सहभागी हुनुपूर्व मन्त्री पौडेलले नेपालमा गर्भवती तथा नवजात शिशुको पोषणस्तरमा सुधारका लागि विभिन्न अन्तर्राष्ट्रिय दातृ निकाय तथा परोपकारी संस्थासँग वार्ता गर्नुभएको थियो । अमेरिकी परोपकारी संस्था एलेनर कुक फाउन्डेसनले गर्भवती महिला तथा नवजात शिशुमा विभिन्न १५ प्रकारका पोषण आपूर्ति गर्ने मन्त्रालयको योजनामा साथ दिने प्रतिबद्धता जनाएको छ । रासस


ताजा खबर