आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदैछ। घोडेजात्रा काठमाडौं उपत्यकामा मनाइँदै आइएको परम्परागत पर्व हो ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडितले विभिन्न उपायले त्यसलाई संहार गरेपनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरूमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।
यसैबीच घोडेजात्राको अवसरमा नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा आज घोडेजात्रा कार्यक्रम गर्दैछ । यस अवसरमा सेनाले घोडादौडलगायतका विभिन्न रोचक कार्यक्रम गर्दै आएको छ। रासस