म्यानमार र थाइल्यान्डमा गएको ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशालि भूकम्पमा परि मृत्यु हुनेको संख्या १ सय ५० नाघेको छ।
भूकम्पले भवनहरू भत्काएको र पूर्वाधारमा ठूलो क्षति पुगेको छ। म्यानमारको सैनिक सरकारका प्रमुख, सिनियर जनरल मिन आङ ह्लाइङले आफ्नो देशमा कम्तिमा १ सय ४४ जनाको मृत्यु भएको र ७ सय ३० जना घाइते भएको जानकारी दिनुभएको छ ।
भूकम्प थाइल्यान्डमा पनि महसुस गरिएको थियो, जहाँ राजधानी बैंककमा कम्तिमा १० जनाको ज्यान गएको छ ।
जनरल मिन आङ ह्लाइङले मृत्यु संख्या अझै बढ्न सक्ने बताउँदै “कुनै पनि देश”लाई सहयोग र राहत प्रदान गर्न आह्वान गर्नुभएको छ । उद्धारकर्मीहरू भूकम्पका कारण भत्किएको निर्माणाधीन भवनको भग्नावशेषमा जीवित रहेका सम्भावित व्यक्तिहरूको खोजी गरिरहेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दक्षिणपूर्वी एसियामा सहयोगका लागि स्रोत परिचालन गरिरहेको बताउनुभएको छ। तर उहाँले यस परिस्थितिमा म्यानमार सबैभन्दा कमजोर अवस्थामा रहेको उल्लेख गर्नुभएको छ ।
स्थानीय समयअनुसार करीब १२ बजेर ५० मिनेटमा भूकम्प गएको हो । म्यानमारको समय नेपाली समयभन्दा ४५ मिनेट अगाडि रहेको छ ।
भूकम्पको केन्द्रबिन्दु सागाइङ्ग शहरबाट करीब १६ किलोमिटर उत्तरपश्चिममा १० किलोमिटरको गहिराइमा रहेको अमेरिकी जिअलोजिकल सर्भे यूएसजीएसले जनाएको छ ।