ॐ हस्पिटल र सानिमा जिआईसी इन्स्योरेन्सबीच सम्झौता

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडबीच सेवा सम्झौता भएको छ ।

काठमाडौं गैह्रिधारास्थित सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको मुख्य कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच आज झन्झट मुक्त तथा क्यासलेस सेवा उपलब्ध गराउने बिषयमा सम्झौता भएको हो ।

सम्झौता अनुसार सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका ग्राहकहरुलाई ॐ हस्पिटलमा उपलब्ध उच्चस्तरको स्वास्थ्य उपचार सेवा अस्पतालको नागरिक बडापत्रमा उल्लेख गरिए अनुसार उपलब्ध गराउने, इन्स्योरेन्स समबद्ध अधिकारीहरुलाई अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई अस्पतालको नियमानुसार भेट्न सहजिकरण गरिदिने, इन्स्योरेन्स सम्बद्ध चिकित्सकहरुलाई ॐ अस्पतालका उपचारमा संलग्न चिकित्सकहरुसँग उपचार योजनाबारे छलफल तथा परामर्शका लागि सहजिकरण गरिदिने, उपचारका बिल बिजकहरु तथा मेडिकल रेकर्डहरुबारे आवश्यकता अनुसार सानिमा जिआइसिका अधिकारीहरुलाई जानकारी दिने, हरेक बिरामीको उपचारका बिल बिजकहरु अलग्गै अडिट गर्नुपर्ने देखिएमा निश्चित समय तोकेर सहजिकरण गरिदिने लगायका बुँदाहरु समेटिएका छन् ।

सेवाग्राही पहिचानकालागि ॐ हस्पिटलले सानिमा जिआइसीद्वारा जारी गरिएको ग्राहक पोलिसी डकुमेन्टको फोटो हेरेर सेवा उपलब्ध गराउने व्यवस्था रहेको उल्लेख छ । संस्थागत कर्मचारीहरुको हकमा सानिमा जिआइसीद्वारा जारी संस्थागत सिफारिश पत्र वा पूर्व प्रमाणिकरण पत्र अनिवार्य रुपमा बुझाउनु पर्नेछ । अस्पतालले सेवाग्राहिको परिचय पत्रको फोटोकपि अनिवार्य रुपमा लिएर बिल पठाउँदा संलग्न गरी पठाउनु पर्नेछ ।

सानिमा जिआइसी सम्बद्ध सामान्य विरामीको उपचारपूर्व अस्पतालले अनिवार्य रुपमा २४ घण्टाधित्र तोकिएको ढाँचामा इन्स्योरेन्स कम्पनिको फाराम ‘एनेक्स ए’ अनुसार जानकारी गराउनु पर्नेछ ।

सानिमा जिआइसीले अस्पतालले खबर गरेको दुई दिन भित्र भुक्तानीको जिम्मेवारी पत्र (ग्यारेन्टी अफ पेमेन्ट) वा आधाकारिकता पत्र (अथोराइजेशन लेटर) पठाउनुपर्ने छ । जसका आधारमा उपचार सेवा बापत अस्पतालले जारी गरेको बिल बिजक इन्स्योरेन्समा प्राप्त भएको मितिले २१ दिन भित्र भुक्तानी गरिने कुरा समेत उल्लेख छ ।

सम्झौतामा ॐ हस्पिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले हस्ताक्षर गर्नुभएको छ ।

समारोहमा सानिमा जिआइसीका डेपुटी जनरल म्यानेजर राजु पौडेल लगायतका अधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो भने ॐ हस्पिटलका तर्फवाट बिजनस डेभलोपमेन्ट म्यानेजर बिनोद अधिकारीको सभागिता रहेको थियो ।


ताजा खबर