आज चैत्र शुक्ल पूर्णिमा, महाप्रभु रामदूत हनुमानको जन्मोत्सवका रूपमा मनाइँदैछ ।
सनातन धर्मका अनुयायीहरुले हनुमानको जन्मोत्सब मनाउदै आएका छन् । आज विशेष पूजा अर्चना गरेर हनुमानको जन्मोत्सव मनाइन्छ ।
चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ ।
यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ ।
हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ ।
हनुमानको पूजा आराधना गरेमा रोग व्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ ।
मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिएकामा यस वर्ष हनुमान जयन्ती शनिबार परेकाले पनि विशेष अवसर मानिएको छ । आज हनुमानको आराधना गर्नु अझ राम्रो हुने मान्यता छ ।
रामायण कथामा हनुमान सबैभन्दा लोकप्रिय, दयावान अनि शक्तिशाली पात्रका रूपमा चित्रण गरिएको छ । रामभक्त हनुमानलाई बल र साहसको पर्यायका रूपमा मानिएको छ ।
हनुमान जन्मोत्सव कसरी ?
द्वापर युगमा अयोध्याका राजा दशरथले पुत्र प्राप्तिका लागि ‘पुत्रकामेष्टि यज्ञ’ गरेका थिए, जसबाट अग्निदेव प्रकट भई दशरथका रानीहरूलाई पायस (खीर) दिएका थिए।
तपस्यामा लिन भएकी अञ्जनीलाई पनि त्यही यज्ञको अवशेष पायस प्राप्त भयो, जसका कारण मारुतीको जन्म भएको मानिन्छ। त्यो दिन चैत पूर्णिमा थियो, र त्यसै दिनलाई ‘हनुमान जन्मोत्सव’को रूपमा मनाइन्छ।
अञ्जनीको कोखबाट हनुमानको जन्म भयो। जन्मपछि उदीयमान सूर्यबिम्बलाई पाकेको फल ठानी हनुमान आकाशमा उडेर त्यसतर्फ झम्टिए। त्यो दिन पर्व तिथि भएकाले सूर्यलाई ग्रस्नको लागि राहु पनि आएको थियो। सूर्यतर्फ जाँदै गरेका हनुमानलाई राहु ठानी इन्द्रले वज्र प्रहार गरे, जसले हनुमानको हनु (बङ्गारा) भाँचियो। त्यसै कारण उनलाई ‘हनुमान’ नाम दिइयो।
कठोर तपस्याका कारण अञ्जनीको कोखबाट भगवान शंकरको अंशले जन्म लिएको विश्वास गरिन्छ। मुनिको आदेश अनुसार अञ्जनाले वायुदेवको पूजा गरिन्। वायुदेव प्रसन्न भई अञ्जनीको कोखबाट नै जन्म लिने आश्वासन दिए। केही वर्ष बित्यो, अञ्जनी सन्तानको अभावमा पीडित थिइन्। उनले भगवान शंकरको पूजा गरिन् र प्रसन्न भइ शंकरले मन्त्र प्रदान गरे।
एक दिन अञ्जनी ध्यानमग्न थिइन्, हातको अंजुलीमा पानी लिएर शिव मन्त्रको जप गर्दै थिइन्। आकाशबाट एक चील पायस लिएर उडिरहेको थियो, अचानक हुरी आयो र पायस अञ्जनीको हातमा खस्यो। त्यो पायसलाई उनले श्रद्धासाथ ग्रहण गरिन्। त्यसपछि उनी गर्भवती भइ चैत पूर्णिमाको दिन मंगलबार सूर्योदयको समयमा हनुमानको जन्म भयो।
यस दिन हनुमानका मन्दिरहरूमा सूर्योदय हुनु अघि नै कीर्तन सुरु हुन्छ। सूर्योदयको समयमा कीर्तन समाप्त हुन्छ र हनुमानको जन्म भएको मानिन्छ। त्यसपछि हनुमानको मूर्तिको पूजा गरिन्छ र सबैलाई प्रसाद स्वरूप अदुवाको सुठो (सुकेको अदुवा) वितरण गरिन्छ।
हनुमानको गलामा भएको जनै ब्रह्मतेजको प्रतीक हो। हनुमान शिवको अवतार भएकाले उनमा विलय गर्ने शक्ति छ। रामभक्तिका कारण उनमा विष्णु तत्त्व पनि समाहित भएको छ, जसले गर्दा स्थायित्वको शक्ति पनि उनमा आएको छ। ब्रह्मतेज र क्षात्रतेज दुवै रहेका कारण हनुमानले युद्धमा आवश्यकताअनुसार दुबै शक्तिको प्रयोग गर्छन्। महाभारतको युद्धमा श्रीकृष्णले हनुमानलाई अर्जुनको रथमाथि राखेका थिए। हनुमानले अर्जुन र रथमा आउने अस्त्र-शस्त्रलाई आकाशमै नष्ट गरिदिएका थिए।
‘हनुमान जन्मोत्सव’को दिन मारुति तत्त्व पृथ्वीमा सामान्य भन्दा १००० गुणा सक्रिय हुन्छ। यस दिन “श्री हनुमते नम:” भन्ने नामजप जतिसक्दो धेरै गर्दा यो सक्रिय मारुति तत्त्वको लाभ प्राप्त गर्न सकिन्छ।
भूत, राक्षसजस्ता नकारात्मक शक्तिहरूबाट जोगाउने शक्ती सबै देवताहरूमा हनुमानसँग मात्र छ। लङ्कामा लाखौँ राक्षसहरू हुँदाहुँदै पनि कसैले हनुमानलाई केही गर्न सकेन। त्यसैले उनलाई ‘भूतहरूको स्वामी’ भनिन्छ। कुनै व्यक्ति भूतले पछ्याएको भए उसलाई हनुमानको मन्दिरमा लगिन्छ, वा मारुति स्तोत्र पाठ गरिन्छ। त्यसपछि पनि समस्या समाधान नभए तल्तो जातको व्यक्तिबाट नरिवल फाल्न लगाई त्यो नरिवल हनुमान मन्दिरमा लगेर फुटाइन्छ। यसरी नरिवल फुटाउँदा त्यसमा समाहित नकारात्मक शक्ति हनुमानको शक्तिबाट नष्ट हुन्छ, र त्यो नरिवललाई विसर्जन गरिन्छ। सफल नेपाल