त्रिवि केन्द्रीय क्याम्पसमा अध्यापन गर्न विद्यावारिधि अनिवार्य

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्यापन गर्न कम्तिमा विद्यावारिधि गरेको हुनुपर्ने मापदण्डको सकारात्मक प्रतिक्रिया आएको छ । उच्चशिक्षाको गुणस्तर र विद्यार्थीमा अनुसन्धानप्रति लगाव बढाउन विश्वविद्यालयले शिक्षक पदस्थापनाको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

यो नयाँ मापदण्डप्रति शिक्षक तथा विद्यार्थी सबै दुवै सकारात्मक भएपछि कार्यान्वयमा समेत आइसकेको छ । केन्द्रीय क्याम्पसमा शिक्षक नियुक्तिका लागि तोकिएको नयाँ व्यवस्थाले शिक्षक-विद्यार्थी दुवै उत्साहित देखिएका छन् ।

विद्यावारिधि गरेका शिक्षकले ज्ञानको गहिराइसम्म गइ पढाउने हुनाले बुझ्न पनि सजिलो हुने र उच्चशिक्षामा गुणस्तरवृद्धिसमेत हुने उनीहरूको बुझाइ छ ।

त्रिभुवन विश्वविद्यालय सभाको गत मंसिरको निर्णयअनुसार केन्द्रीय क्याम्पसमा अध्यापन गराउने शिक्षकको शैक्षिक योग्यता विद्यावारिधि हुनुपर्ने मापदण्ड कार्यान्वयनमा ल्याइएको हो । यसअघि स्नातकोत्तर गरेकाले समेत सिधै शिक्षक बन्न पाउने व्यवस्था थियो।

उच्चशिक्षालाई गुणस्तरीय बनाउन आंगिक क्याम्पसहरूमा पनि नियुक्तिको नयाँ मापदण्ड लागू गर्दै जाने योजना विश्वविद्यालयको छ । जसले गर्दा मुलकका लागि आवश्यक दक्षजनशक्ति उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा विश्वविद्यालयको छ ।

विश्वविद्यालयमा हाल कार्यरत शिक्षकहरुको हकमा भन्ने यो व्यवस्था लागू नहुने त्रिविले स्पष्ट पारेको छ । त्रिवि केन्द्रीय क्याम्पसका ४२ वटा केन्द्रीय विभागमा ३ सय ५० भन्दा बढी शिक्षक कार्यरत छन् । स्नातकोत्तर तहदेखि विद्यावारिधिसम्मको अध्ययन अध्यापन हुने केन्द्रीय क्याम्पसमा ६ हजार विद्यार्थी अध्ययनरत छन् । रासस


ताजा खबर