नयाँ  वर्ष २०८२ को मङ्गलमय शुभकामना

शोभा पाण्डेय/ सिलवाल

२०८२ साल नयाँ  वर्ष  आयो

यादहरू धेरै  बोकाई ८१ साल गयो।

उमङ्ग र उल्लासले सबको मन छाओस्

मौनतामा चिन्तन गर्ने ठाउँ  यसले देओस्  ।

सिर्जनाले नयाँ  युगको बिगुल तय गरोस्

८२ले हृदयको द्वार खोली जाओस् ।

सत्प्रेरणा ,सद्भावना यो वर्षमा बढोस्

संसारभरै  सुखशान्ति  समृद्धिले ढाकोस् ।

शून्यबाट शिखर चुम्ने यात्रा सफल होओस्

आशाका ती किरणहरू सदा फैलिरहोस् ।

हात सदा दातव्य होस् तन बनोस् चङ्गा

कुत्सित विचार हटोस् सदा मन बनोस् गङ्गा ।

मिठाई बनुन् शब्द जति अर्थ होउन् मह

फूल जस्तै सुवास छर्न सकोस् फाली बह ।

क्षुत्पिपासा हटाउन सफल बनोस् देश

भूस्वर्ग हो हाम्रो राष्ट्र  नफैलोस् विद्वेष ।

तीन करोड  नेपालीको घर आँगनमा

परिवर्तन  ल्याउन सकोस् सबको हृदयमा ।

उत्साह र प्रेम जागोस् नेतागणको मनमा

उन्नतिको बहार आओस् यो हाम्रो  राष्ट्रमा ।

अनेकतामा एकता होस् यो हाम्रो  मुलुकमा

नयाँ  वर्ष २०८२ को छ है शुभकामना ।


ताजा खबर