हार्वर्ड विश्वविद्यालयमा अनुसन्धानका काम प्रभावित

अमेरिकी शिक्षा मन्त्रालयले हार्वर्ड विश्वविद्यालयलाई दिने भनिएको २ अर्ब ६० करोड अमेरिकी डलर बराबरको अनुदान र ६ करोड डलर बराबरको अन्य सहयोग रोक्का गरेको छ ।

यसैगरी, अमेरिकी सरकारले सो विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा समेत रोक लगाउन सक्ने चेतावनी दिएको छ ।

विश्वविद्यालयमा विद्यार्थी भर्नादेखि कर्मचारीको नियुक्ति सम्बन्धी प्रावधानमा परिमार्जन गर्नुपर्ने माग ट्रम्प प्रशासनले गर्दै आएको छ । साथै विविधता, समानता र समावेशीकरण सम्बन्धी कार्यक्रमहरुलाई हटाउन, मास्कमाथि प्रतिबन्ध लगाउन र योग्यतामा आधारित प्रणालीलाई अंगाल्नकालागि प्रशासनले दबाव दिंदै आएको छ ।

साथै इजरेल हमास युद्धमा हमासको पक्षमा निस्किने विरोध प्रदर्शनलाई समेत विश्वविद्यालय प्रशासनले नियन्त्रण गर्न नसकेको आरोप अमेरिकी सरकारले लगाउँदै आएको छ ।

हार्वर्ड विश्वविद्यालयले भने संघीय सरकारको अनुदान रोकिँदा अनुसन्धानका कामहरु प्रभावित हुनुका साथै छात्रवृत्ति दिने प्रक्रियामा समेत समस्या आउने जनाएको छ ।

हार्वर्ड विश्वविद्यालयमा पढ्ने विद्यार्थीमध्ये २७ प्रतिशत विद्यार्थी विदेशी मुलका रहेका छन् ।

यसअघि अमेरिकी सरकारले कोलम्बिया विश्वविद्यालयका लागि दिने भनिएको रकम समेत रोकेको थियो ।

यसैगरी, विभिन्न ८० वटा विश्वविद्यालयका करिब ६ सय जना विदेशी विद्यार्थी र प्राध्यापकहरुको भिषासमेत रद्द गरेको छ । रोयटर्स


ताजा खबर