‘बादल वर्षा बिजुली साउनको पानी
चिसो चिसो मौसम छ तातो जवानी
मुटु मेरो दुख्न थाल्यो नी,
ज्यान मेरो सुक्न थाल्यो नी
के होला भनन, मायाको ओखती…’
चलचित्र कर्तब्यको यो गीत अहिलेसम्म पनि त्यत्तिकै लोकप्रिय छ । केही समय अघि गायक आनन्द कार्कीले पुन रेकर्ड गरेर यो गीत ल्याएपछि बादल वर्षा बिजुली फेरी भाइरल भएको हो । गीत भाइरल भएसँगै यसका संगीतकार सचिन सिंहको चर्चा फेरी चुलिएको छ । सचिनको संगीतमा यो गीत चलचित्र कर्तब्यमा राखिएको थियो । यो मात्र हैन, सचिनले बादल वर्षा जस्तै थुप्रै चर्चित चलचित्र गीतहरूमा संगीत सृजना गरेका छन् ।
भारतको कालिम्पोङमा जन्मिएका सचिनको सांगीतिक यात्रा स्थानीय एस.यु.एम.आई. स्कुलबाट सुरु भएको हो । कालिम्पोङबाट सांगीतिक यात्रामा अघि बढ्ने योजनाका साथ उनी काठमाडौँ आएका थिए । काठमाडौँको सिम्फोनी स्टुडियोमा गिटार वादकको रूपमा उनले व्यवसायिक सांगीतिक यात्रा थालेका रहेछन् ।
उनले त्यसपछि संगीत संयोजकको रूपमा आफूलाई अघि बढाए । दीप श्रेष्ठको हर रात सपनीमा ऐठन हुन्छ…, झिरमा उनिनु… जस्ता थुप्रै गीतहरूमा संगीत संयोजकको रूपमा उनले काम गरे । सोही क्रममा अमर रसाइलीको निर्देशनमा तयार हुने चलचित्र धर्ममा उनले कति मिठो कति न्यानो… गीतमा संगीत सृजना गरेका थिए । धर्मको यही गीतबाट उनको चलचित्रमा संगीत यात्रा सुरु भएको थियो ।
यो यात्रामा उनले करिब चार दर्जन नेपाली चलचित्रमा पाश्र्व संगीतकारको रूपमा संगीत सृजना गरिसकेका छन् । चलचित्र सगुनको आगो लाग्यो दिलैमा दमकल बोलाई देऊ…, चलचित्र आगोको माया बस्यो मुटुमा…, चलचित्र लहनाको धड्किन्छौ मुटुमा होला…, लहनाकै कहिले माया घामजस्तै…, चलचित्र सुपर स्टारको मायालुको माया मिठो…, सुपर स्टारकै गुराँस फुल्दा बनै रमाइलो…, चलचित्र अंग रक्षकको म तिमीलाई माया गर्छु…, चलचित्र मलाई माफ गरिदेऊको सुनको बिहानी…र तस्बिरमा यस्तो…जस्ता थुप्रै चलचित्रका गीतमा सचिन सिंहकै संगीत रहेको छ ।
चलचित्र जस्तै उनका थुप्रै आधुनिक, लोक गीतहरू पनि पनि हिट छन् । रिमा गुरुङको कसको आँखा लाग्यो…, नलिना चित्रकारको पानी पानी भयो मेरो मन पनि…, रामचन्द्र काफ्ले र सिन्धु मल्लको लाठी चार्ज…, स्वरूप राज आचार्यको मन मिल्ने मान्छे कतै…, जस्तो थुप्रै हिट गीतको संगीत सृजना पनि सिचनले नै गरेका हुन् ।
साँढे तीन दशकको यो सांगीतिक यात्रामा उनले पाँच सय भन्दा बढी गीतमा संगीत सृजना गरिसकेका छन् । यसरी चलचित्रसँगै आधुनिक, लोक, पप, लोकदोहोरी, भजन, राष्ट्रिय भाव जस्ता विभिन्न जनराको गीतमा संगीत सृजना गरेका सचिनको सांगीतिक प्रेरणाका स्रोत कालजयी स्रष्टा गोपाल योञ्चन हुन् । त्यो समय गोपाल योञ्जन, अम्बर गुरुङ, दीप श्रेष्ठ, भारतीय संगीतकार आरडी वर्मन जस्ता अग्रज स्रष्टाहरूको सांगीतिक प्रेरणाले आफू यहाँसम्म आएको सचिन स्मरण गर्छन् ।
संगीत सृजनाकै लागि काठमाडौँ आएपछि आफ्ना अग्रज स्रष्टाहरू गोपाल योञ्जन, अम्बर गुरुङ, दिव्य खालिङ, नातिकाजी, दीप श्रेष्ठ, प्रकाश गुरुङ लगायतसँग काम गर्ने अवसर उनले पाए । सचिनले भने,‘आज म जहाँ छु, यो सफलतामा तिनै अग्रज सांगीतिक स्रष्टाहरूको आशीर्वाद र साथ रहेको छ ।’
बाल्यकालमा गोपाल योञ्जनका धेरै गीतहरू गुनगुनाएर हुर्केका सचिनले पहिलो पटक गोपाल योञ्जनलाई धापासी स्थित गोपालय स्टुडियोमा भेटेका थिए । त्यो पल सम्झँदै सचिनले भने,‘गोपाल योञ्जन अंकलले मलाई पहिलो पटक उहाँकै स्टुडियोमा एउटा गीतमा गिटार बजाउन बोलाउनु भएको थियो । त्यो पहिलो भेटमै उहाँसँग म आत्मीय भएँ की, गोपाल अंकलले एकपछि अर्को गर्दै थुप्रै गीतहरूमा मलाई गिटार वादकको रूपमा काम गर्ने अवसर दिनु भयो ।’
यसरीे सचिनको गोपाल योञ्जनसँगको सांगीतिक यात्रा अघि बढेको थियो । सोही संगत र प्रेरणाले गर्दा पछिल्लो समय गोपाल योञ्जनका सृजनालाई पुन स्वरूप दिने कार्यमा सचिन क्रियाशील छन् । गोपाल योञ्जनाकी धर्मपत्नी रिन्छेन योञ्जन र छोरी सिर्जना सिंह योञ्जनको हौसलाले उनी गोपाल योञ्जनका पुराना एनलग पद्धतीमा तयार गरिएका गीतहरूलाई समय अनुसारको संगीत संयोजनसहित श्रोतामाझ ल्याउन तल्लीन छन् ।
गोपाल योञ्जनका यति चोखो यति मिठो…, काली पनि देखेँ मैले…, थिएन कोही…, मेरो मनको तार… जस्ता कालजयी गीतहरू पछिल्लो समय पुरानै लय, तर नयाँ संगीत संयोजनमा बजारमा आएका छन् । यी गीतमा नयाँ संगीत संयोजन सचिन सिंहले गरेका हुन् । गोपाल योञ्जनको पुराना यी गीतहरूलाई नयाँ संगीत संयोजन गर्दाको अनुभव सुनाउँदै सचिनले भने,‘यी कालजयी गीतहरू गोपाल योञ्जन अंकलको सृजनामै रहेर मैले पछिल्लो समय संगीत संयोजन गरेका हुँ । समसामयिक समय अनुसार पुरानै लयमा पुन संगीत संयोजनले यी गीतहरू अझ माधुर्य भएको महसुस मैले गरेको छु ।’
गोपाल योञ्जनको सृजनालाई संरक्षण गर्न स्थापित संस्था गोपालयबाट पछिल्लो समय थुप्रै कामहरू भइरहेका छन् । गोपालयले गत ४ फागुनमा काठमाडौँमा गोपाल योञ्जनको सृजनामा आधारित रहेर नयाँ पुस्तक ‘गोपाल योञ्जन’ सार्वजनिक गरेको थियो । करिब दुई घण्टाको सांगीतिक कार्यक्रमबिच गरिएको पुस्तक लोकार्पण समारोहको सांगीतिक प्रस्तुतिको संगीत संयोजक सचिन सिंह नै थिए । त्यसपछि भारतको मिरिक र सिलगढीमा आयोजित यही पुस्तकको चर्चा र गोपाल योञ्जन सम्बन्धि सांगीतिक कार्यक्रमको संगीत संयोजन पनि सचिनले नै गरेका थिए ।


‘हिजोको दिनमा गोपाल योञ्जन अंकलको सामीप्यमा रहेर उहाँबाट धेरै कुरा सिक्दै अघि बढ्ने अवसर मिलेको थियो । उहाँले छाडेर जानु भएका सृजनाहरूलाई दर्शक श्रोतामाझ आज विभिन्न कार्यक्रममा प्रस्तुत गर्न पाउँदा उहाँप्रति सांगीतिक श्रद्दासुमन अर्पण गरेको महसुस भइरहेको छ’, संगीतकार सचिन सिंहले भने । आउँदा दिनमा पनि गोपाल योञ्जनका सिर्जन यसरी नै निरन्तर प्रस्तुत गरेर नयाँ पुस्तालाई सुम्पँदै जाने चाहना उनले सुनाए ।