नेपाल भ्रमण वर्ष २०२० आरम्भ भएको छ । तीन वर्षपहिले भूकम्पले ध्वस्त भएको पर्यटन उद्योगलाई नयाँ गति दिने उद्देश्यले भ्रमण वर्ष आयोजना गर्ने घोषणा गरिएको हो । नेपाल भ्रमणका लागि विदेशी पाहुनालाई आकर्षित गर्ने र आन्तरिक भ्रमणलाई पनि प्रोत्साहित गर्ने उद्देश्यले भ्रमण वर्षसम्बन्धी विभिन्न कार्यक्रम आयोजना हुनेछन् । वर्षभरि नै विविध गतिविधि गर्दै यस वर्षलाई पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विस्तार गर्न, नयाँ पर्यटकीय गन्तव्यको प्रचार र प्रवर्धन गर्न सरकार र निजी क्षेत्रका विभिन्न संघसंस्था सक्रिय भएका छन् ।
गत वर्ष नेपालमा १० लाखभन्दा बढी संख्यामा पर्यटक आएका थिए । यस वर्ष २० लाख पर्यटकलाई नेपाल भ्रमण गराउन प्रयास गरिने सरकारले बताएको छ । भूकम्पका नकारात्मक प्रभाव कम भइसकेको, पर्यटकलाई लक्षित गरेर नयाँ स्तरीय होटल, रिसोर्टमा लगानी बढ्दै गएको र निजी क्षेत्रको लगानी आकर्षित भइरहेको तथा बन्द हडतालजस्ता पर्यटन व्यवसायलाई नकारात्मक प्रभाव पार्ने घटनामा निकै कमी हुँदै आएको सन्दर्भमा नेपालले वार्षिक २० लाख पर्यटक भित्र्रयाउने आशा राख्नु अस्वाभाविक होइन । विश्वकै उत्कृष्ट गन्तव्य बन्न सक्ने भूबनोट, हावापानी र प्रकृतिका कारण यसै पनि साधारण सुविधा पाउँदा नेपाल आउने पर्यटकको संख्या सहजै बढ्ने आशा गर्न सकिन्छ ।
पछिल्लो समय गाउँगाउँमा पर्यटन विकासका लागि गरिएका प्रयास र होमस्टेहरूको विस्तार, सडक यातायातको पहुँचमा विस्तार तथा बन्दै गरेका नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पनि हाम्रो पर्यटन विकासका लक्ष्यका लागि सकारात्मक पक्षका रूपमा रहेका छन् । यससँगै चिनियाँ र भारतीय मध्यमवर्गको एउटा गन्तव्यका रूपमा नेपाल पनि पर्नु हाम्रा लागि सकारात्मक पक्ष हो । यस्तो अवस्थामा भ्रमणवर्षकै क्रममा २० लाख पर्यटक नआए पनि यसका प्रभावले आउने वर्ष नेपाली पर्यटन उद्योगको विकासका लागि आसलग्दो हुने अपेक्षा गर्न सकिन्छ । माथिल्लो मुस्ताङ, मनाङ, रारा, सेफोक्सुन्डोलगायत क्षेत्रमा बढ्दो आन्तरिक पर्यटनले नेपाली पर्यटन क्षेत्रलाई भरपर्दो ‘ब्याक अप’को काम गर्न थालेको छ ।
विश्वकै उत्कृष्ट गन्तव्य बन्न सक्ने भूबनोट, हावापानी र प्रकृतिका कारण साधारण सुविधा पाउँदा पनि नेपाल आउने पर्यटकको संख्या सहजै बढ्न सक्छ ।
नेपाली पर्यटन विकासको पहिलो चुनौती भनेको अझै पनि पूर्वाधार नै हो । काठमाडौंमा रहेको प्रदूषणको मात्रा, काठमाडौंबाट तिब्बत जोड्ने सडकको कमजोर र मौसमी अवस्था, कर्णाली प्रदेशमा सहज सडक सञ्जालको नितान्त अभाव, काठमाडौं, पोखरा र चितवनकेन्द्रित पर्यटकीय सुविधाजस्ता विषयले पर्यटकलाई लामो समय नेपालमा टिकाइरहन सकेका छैनन् । पर्वतारोहणलाई अझै पनि नेपालले त्यसको महत्वअनुसारको मूल्य लिने गरी उपयोग गर्न सकेको छैन ।
नेपाल वायुसेवा निगमको उडान विश्वसनीय हुन नसक्दा पहाडी क्षेत्रमा पर्याप्त हवाई सेवा पुगेको छैन । विदेशी पर्यटकलाई गरिने व्यवहार र उनीहरूलाई नेपालीसरह दिइएको सेवाका लागि लिइने शुल्कको भिन्नता पर्यटकलाई आकर्षित गर्ने खालको छैन । यस्ता विषयलाई ध्यानमा राख्दै साहसिक पर्यटनमा जोड दिने, प्रदूषण कम गर्ने उपाय अपनाउने र नयाँनयाँ गन्तव्यतिर पर्यकटलाई आकर्षित गर्ने गरी सरकारले पूर्वाधार विकासमा थप लगानी गर्दै जाने हो भने नेपालमा २० लाख होइन, वार्षिक ५० लाख पर्यटक भित्र्याउन कुनै ठूलो कसरत गरिरहनुपर्दैन ।
अंग्रेजी नयाँ वर्षसँगै आरम्भ भएको नेपाल पर्यटन वर्ष २०२० को सफलताका लागि शुभकामना !