कमलामाई नगरपालिका १२ मा रहेको श्री कुण्डेश्वर माध्यमिक विद्यालयको ५२ औं बार्षिकोत्सवको अवसरमा पौष १७ गते १० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
विद्यालयका संस्थापक सदस्य स्व. मुक्तिनाथ दहालको स्मृतिमा उहाँका सुपुत्र मुकुन्द प्रसाद दहालले स्थापना गर्नुभएको ‘मुक्तिनाथ स्मृती अक्षय कोष’बाट शैक्षिक सामग्री वितरण गरिएको हो ।
दहालले २०७४ सालमा विद्यालयको स्वर्ण जयन्तीको अवसरमा आयोजित बिशेष समारोहमा एक लाख रुपैयाँको अक्षय कोष घोषणा गर्नुभएको थियो। कोषबाट प्राप्त व्याजमध्ये रु.१३,३०० रकम बरावरको शैक्षिक सामग्री वितरण गरिएको हो ।
विद्यालयका शिक्षकहरुको समूहद्वारा छनौट गरिएका कक्षा १ देखि १० सम्मका एक एक जना गरिव, दलित, जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई स्कुल व्याग, कपि, औजार बक्स, कलर पेन्सिल, डटपेन, सामान्य ज्ञानका पुस्तकहरु लगायतका शैक्षिक सामग्रीहरु वितरण गरिएको थियो ।
अक्षयकोषका संस्थापक दाहाल विद्यालयका पूर्व विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । उहाँले २०५२ सालमा विद्यालयमा निमावि कक्षा सञ्चालन गर्नसमेत आर्थिक सहयोग गर्नुभएको थियो । विद्यालयमा माध्यमिक तहको कक्षा सञ्चालन गर्न तथा उच्च माध्यमिक शिक्षा सम्मको ब्यपस्था गर्न उहाँले महत्वपूर्ण योगदान दिनुभएको छ ।
विद्यालयको बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शिक्षासेवी दहालले अक्षयकोषलाई थप समृद्ध बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । आगामी दिनमा धेरै भन्दा धेरै विद्यार्थीहरु यसबाट लाभान्वित हुनसक्नेगरी कोषलाई सबल बनाउन आफू लागिपरेको बताउनुभयो ।