नेपाल भ्रमण वर्ष भनेको विकासको एउटा प्रक्रिया हो । यो भ्रमण वर्ष यस्तो प्रक्रिया हो जहाँ राज्य, निजीक्षेत्र र जनताको त्रिकोणात्मक सहभागिताबाट मात्र सम्भव हुन्छ । भ्रमण वर्षको अभियान राज्य एक्लैले वा निजीक्षेत्रले मात्र चाहेर हुँदैन । आम नेपालीले यो साझा अभियानको रूपमा ग्रहण गर्नुपर्छ । नेपाल घुम्न पर्यटक आउँदा मनैबाट नेपालीले सत्कार र स्वागत गर्नुपर्छ । भ्रमण वर्षको मूल्याङ्कन पर्यटकको टाउको गन्ती गरेर मात्र हुने होइन । हामीले निर्माण गर्ने विकास पूर्वाधारहरू पर्यटकका लागि मात्र होइन, आम नेपालीकै लागि हो । सरकार, निजीक्षेत्र र जनताले सोच्नुपर्ने कुरा के हो भने जति पनि विकास निर्माणका पूर्वाधार बन्छन् ती अन्ततोगत्वा राष्ट्रकै सम्पत्ति हुन् । जनताकै लागि हो ।
नेपालका लागि पर्यटन तुलनात्मक फाइदाको विषय हो । अन्य देशले पर्यटक भित्र्याउन कृत्रिम चिजको निर्माण गर्नुपर्छ । तर हामीलाई प्रकृतिले उपहारका रूपमा अथाह प्राकृतिक भण्डार उपलब्ध गराएको छ । त्यसैले हाम्रो देश ‘गड गिफ्टेड’ (भगवान्को उपहार) हो । पर्यटन भन्ने शब्द नेपालबाट गायब भयो भने संसारबाट पनि हुन्छ । संसारका १९६ देशमध्ये नेपालमात्र यस्तो देश हो जुन प्राकृतिकरूपमा सबैभन्दा रमणीय छ । मानिसको जीवनमा एकपटक भ्रमण गर्नैपर्ने देश ‘नेपाल’ भनेर विश्वव्यापी प्रचार भएको छ । पर्यटकको जनजिब्रोमा नेपाल झुण्डिएको छ । यही हो तुलनात्मक लाभ भनेको । नेपाल हिमाल र पहाडमा धनी छ । यहाँ जैविक, वातावरणीय विविधता छ । सबैभन्दा अग्लो र गहिरो खाडी यहीँ छ । अफ्रिका र स्वीजरल्याण्ड यही छ । सानो मुलुकमध्ये यतिधेरै विविधता भएको मुलुक नेपाल एक्लो हो । अन्य देशमा यस्तो पाइँदैन ।
२००७ सालमा प्रजातन्त्र उदय भएपछि विदेशीहरू नेपाल आउन थाले । विभिन्न देशको राजदूतावास नेपालमा खुल्न थाल्यो । त्यहीमार्फत विदेशीहरू नेपाल घुम्न आउन सुरु गरे । नेपाल देखेर छक्क पर्दै विश्वभर नेपालबारे प्रचार गरे । तर हामी पर्यटनक्षेत्रको व्यवस्थापनमा चुकेका छौँ । हामी पहिला विकास गर्ने अनि योजना बनाउने सोच्छौँ, जुन त्रुटिपूर्ण छ । पहिले पूर्वाधार योजना बनाएर अनि मात्र विकास सम्भव हुन्छ । हाम्रा प्रधानमन्त्री, मन्त्रीलाई सपना देख्ने समय नै भएन । कार्यकर्तासँगको भेटघाटमै समय व्यतित गरिरहेका छन् । सपना नदेख्नेले काम गर्न सक्दैन ।
भ्रमण वर्षको सुरुवात
सन् १९९८ मा पहिलो भ्रमण वर्ष शुरु भएको थियो । त्यसको योजनाकार म आफैँ थिएँ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भ्रमण वर्षको योजना प्रस्ताव तयार गरेर दिएको थिएँ । सन् १९९६ बाटै प्रस्ताव तयार सुरु गरेर प्रतिवेदन सरकारलाई बुझाएँ । त्यो प्रस्तावलाई मन पराएर सरकारले पारित गरेपछि सन् १९९८ मा पहिलो नेपाल भ्रमण वर्ष शुभारम्भ भएको हो । भ्रमण वर्षको राष्ट्रिय संयोजक म थिएँ । त्यो बेला यति धेरै काम गरेँ कि अहिले त्यति काम गरिएको अनुभव छैन । दिनरात नभनी काम गरेको थिएँ । धेरै खटेर अभियान सफल भएको थियो । पाँच लाख पर्यटक ल्याउने लक्ष्य लिएका थियौँ तर चार लाख ८६ हजार पर्यटक आए । भ्रमण वर्ष सफल भएको थियो । आम जनता स्वतःस्फूर्तरूपमा अभियानमा संलग्न भएका थिए । सरकारले होस्टे गर्ने हो, हैँसे जनताले गर्नुपर्छ । पहिलो भ्रमण वर्षमा जनताले त्यसैगरी होस्टेमा हैँसे गरे ।
भ्रमण वर्ष भनेको राष्ट्रिय चाड हो । प्रथम भ्रमण वर्षलाई जनताले त्यसैगरी स्वीकारे । नेपालको इतिहासमा खँदिलो पर्यटनको जग सन् १९९८ नै हो । पर्यटक भनेका सेतो छाला भएकालाई मात्र मान्ने प्रचलन हाम्रो छ तर सेता छाला भएका मात्र पर्यटक होइनन् । हामीले आन्तरिक पर्यटकको अवधारणा पनि त्यहीबेला सुरु ग¥यौँ । एक ठाउँबाट अर्को ठाउँमा घुम्ने र घुमाउने आह्वान गरेका थियौँ । मिडियाबाट त्यहीअनुसार प्रचारप्रसार गरायौँ । त्यतिबेला पर्यटक काठमाडौँ, पोखरा र चितवनमै केन्द्रित थिए । तर अहिले अवस्था फेरिएको छ । अहिले देशभर पर्यटक जानसक्ने पूर्वाधार तयार भएको छ । यो खुशीको कुरा हो । आन्तरिक पर्यटक भनेका बाह्य पर्यटनका लागि जग हुन् । त्यो हामीले खडा गरेका छौँ । त्यसपछि सन् २०११ मा दोस्रो भ्रमण वर्ष सम्पन्न भयो । तुलनात्मकरूपमा सफल नै रह्यो । अहिले भ्रमण वर्ष २०२० जनवरी १ देखि सुरु भएको छ । यस वर्ष कम्तीमा २० लाख पर्यटक ल्याउने लक्ष्य सरकारको छ । यो सङ्ख्या बढ्न पनि सक्छ, कम पनि हुनसक्छ । तर सरकारले यो भ्रमण वर्षलाई जनतासँग आत्मसात् गराउन सक्नुपर्छ । नागरिकले जबसम्म भ्रमण वर्षलाई आफ्नो राष्ट्रिय पर्वका रूपमा आत्मसात् गर्दैनन् तबसम्म सफल हुँदैन ।
पर्यटनबाटै विकासको लहर
पर्यटन क्षेत्रबाटै विकासको लहर सम्भव छ । यो सन्देश हामीले देशभर दिन सक्नुपर्छ । हाम्रा ७० लाख जनशक्ति विदेशी भूमिमा श्रम बेचिरहेका छन् । ती जनशक्तिलाई नेपालमै ल्याएर श्रम गराउने वातावरण बनाउनुपर्छ । त्यो पर्यटन क्षेत्रबाटै सम्भव छ । पर्यटन सेवामूलक उद्योग हो । यसमा सबैको अपनत्वबोध हुनुपर्छ । अहिले कुल गार्हस्थ उत्पादनको तीन प्रतिशत योगदान पर्यटन क्षेत्रबाट रहेको तथ्याङ्क छ । अब यसलाई बढाएर १० प्रतिशत पु¥याउने लक्ष्य सरकारको छ । यसको सही व्यवस्थापन गर्न सक्ने हो भने त्योभन्दा बढी योगदान दिनसक्ने आधार बन्छ । पर्यटन अभियानमा राजनीति, धर्म र जातीयता घुसाउनुहुँदैन । यो साझा अभियान हो । विकासको स्वच्छ अवधारणा हो ।
नेपाल भ्रमण वर्ष २०२० लगत्तै विकासको काम सम्भव हुनेछ । यही भ्रमण वर्षको उपलब्धि हुनेछ । बाटो नपुगेका ठाउँमा बाटो पुग्नेछ । पूर्वाधार नबनेका ठाउँमा निर्माण हुनेछ । यसबारे कसैले पनि नकारात्मक टिप्पणी गर्नुहुँदैन । सबैले सकेको सहयोग गर्नुपर्छ । पर्यटन वर्ष होटल व्यवसायीका लागि मात्र होइन । सरकारको अभियान मात्र पनि होइन । यो त गाउँगाउँ पुग्ने अभियान हो । वातावरणीय उद्योग पनि हो यो । देशका लागि मुस्कान हो । जे जति बिक्री वितरण हुन्छ त्यो नेपालीकै हुन्छ । यो अभियानले न प्रदूषण गराउँछ न त विकृति ल्याउँछ । पर्यटन भनेको पारदर्शी उद्योग हो । हुने ठाउँबाट नहुने ठाउँमा विकास पुग्छ । सबैभन्दा सुहाउँदो, प्राकृतिक र व्यावहारिक उद्योग पर्यटन नै हो । यसलाई प्राथमिकता दिन सकेनौँ भने विकास गर्न सक्दैनौँ ।
वातावरण कसले बनाउने
गाउँगाउँमा अहिले होमस्टे (घरवास) अवधारणा आएको छ । यद्यपि त्यसको व्यवस्थापन हुन सकेको छैन । होमस्टेले अझै सरकारलाई कर तिर्दैनन् । होमस्टेमा गाउँघरकै बासिन्दा हुन्छन् । पर्यटकलाई स्वागत गर्छन् । त्यसको सही व्यवस्थापनका लागि नीति बन्नुपर्छ । नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय क्षेत्रमा पर्याप्त प्रचार भइसकेको छ । पूर्वाधारको हकमा अलि कमजोरी पक्कै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो छ । पर्याप्त जहाज ल्याउन सक्ने ठाउँ छैन । यद्यपि विकल्पमा अन्य विमानस्थल निर्माणाधीन अवस्थामा छन् । सम्पन्न भएपछि धेरै पर्यटक जहाजबाटै ल्याउन सक्ने वातावरण बन्छ । अहिले देशभर बाटोघाटो बनिसकेको छ । अतिकति स्तरोन्नति गर्दा मोटर सजिलै गुड्न सक्छ । त्यसैले पनि गाउँगाउँमा ‘पर्यटन जोन’ तोक्न सक्ने अवस्था छ । २० वर्षमा बन्न नसकेका होटल अबको दुई वर्षभित्र ठाउँठाउँमा बन्दैछन् । जिल्ला जिल्लामा तारे होटल निर्माण भइसकेका छन् । भारत, पाकिस्तान, बङ्गलादेशको तुलनामा हामी पर्यटनमा धेरै अगाडि छौँ । हाम्रो प्रकृतिले त्यो सम्भव गरेको छ ।
हामीले आफ्नो राम्रो कुरा चिन्न सकेका छैनौँ । नकारात्मक सोचाइ बढी छ । सकारात्मक सोचको विकास गर्न बाँकी छ । विकास निर्माणको काम सरकारले मात्र चाहेर हुँदैन । त्यसैले निजीक्षेत्र र जनताले पनि त्यसमा सहयोग गरिरहेका छन् । यहाँको जहाज, यातायातमा निजीक्षेत्रकै लगानी बढी छ । बैङ्क, अस्पताल, शिक्षाक्षेत्र, स्कुल, कलेज सबै निजीक्षेत्रले चलाइरहेका छन् । सरकारले त कर मात्र उठाइरहेको छ । सरकारले निजीक्षेत्रलाई साथ दिनुपर्छ । हातेमालो गरेर अघि जानुपर्छ । अनुकूल वातावरण बनाइदिनुपर्छ । भ्रमण वर्ष २०२० ‘हामी गर्न सक्छौँ’ सन्देश दिने अवसर हो । सरकारले पैसा खर्च गरेर मात्र हुँदैन । हातेमालो गरेर जानुपर्छ । एकल स्वामित्वमा कुनै पनि अभियान सफल हुँदैन । सबैको अपनत्व भयो भने जस्तोसुकै अभियान र आयोजना सफल हुन्छ ।
के हेर्ने नेपालमा
भौगोलिक हिसाबले ५६ हजारभन्दा बढी स्क्वायर माइल मात्र नेपालमा छ । तर अधिकतम जैविक विविधता यहाँ छ । विश्वका अग्ला चुचुरा यहीँ छन् । जङ्गली जीवजन्तु, यथेष्ट वनस्पति यहीँ छ । तराई अफ्रिका हो हाम्रा लागि । १५ किलोमिटरको दूरीमा पहाड – स्वीटरल्याण्ड छ । मौसम हाम्रो लागि विविधता छ । यस्तो संसारमा कहीँ छैन । नेपालको सबै भूभागमा तरकारी र फलफूल उत्पादन हुन्छ । ३२ किसिमका लालीगुराँस, ८७० प्रजातिका चराचुरुङ्गी यहीँ छन् । बाघ, भालु, हात्ती, गैँडा यही छन् । ताल र नदीले भरिपूर्ण मुलुक यही हो । अफ्रिकापछिको दोस्रो प्राकृतिक चिडियाघर नेपाल नै हो । हाम्रोमा इतिहास, संस्कृति छन् । अमेरिकाको इतिहास जम्मा २४० वर्षको छ । अस्ट्रेलिया ११९ र सिङ्गापुरसँग जम्मा ६५ वर्षको इतिहास छ । एक हजार २०० सय वर्ष पहिले हाम्रा अरनिको तिब्बत गए । त्यसपछि चीन, मङ्गोलिया गएर प्यागोडा बनाइदिएर विश्वमा चर्चित छन् । यति प्राकृतिक तथा सांस्कृतिक विविधता अन्य देशमा कहाँ छ ? अन्य देशले ‘सेक्स र जुवा’को टुरिज्म गर्छन् । हामीले त्यो गर्नुपर्दैन । हामीसँग प्रकृति नै पर्याप्त छ । यहाँ आउने अधिकांश पर्यटक यहाँको हिमाल नै मन पराउँछन् । नेपालीको संस्कृति र मुस्कान हेर्न आउँछन् । एकपटक नेपाल आएको पर्यटक फेरि फर्केर आउन खोज्छ । यही हाम्रो विशेषता हो ।
पर्यटक कसरी टिकाउने
पर्यटकको नेपाल बसाइ लम्ब्याउने वातावरण बनाउनुपर्छ । जुन अहिलेसम्म हुन सकेको छैन । गुणस्तरीय पर्यटक बढाउन यहाँको विविध संस्कृतिको आधार तयार गर्नुपर्छ । हिमाल, पहाड, छहरा, तालतलैया हेरेर बसेका पर्यटकलाई यहाँको विविध जातीय समुदायको संस्कृति देखाउने वातावरण तयार गर्नुपर्छ । यसलाई व्यावसायिक बनाउनुपर्छ । त्यसले केही दिन पर्यटकको बसाइ लम्ब्याउनमा सहयोग सिद्ध हुनसक्छ । नेपालमा पर्यटक आउन ‘छ महिना’ पहिले नै योजना बनाउँछ । आजको भोलि बोलाएर आउँदैन । यहाँको प्राकृतिक सम्पदा, विविध सांस्कृतिक कलाकृतिको अवलोकन गर्न पर्यटकले योजना बनाएर आउँछ । त्यसको सही व्यवस्थापन गर्ने काम हाम्रो हो ।
चुनौती
दक्षिण एसियाली खेलुकद (साग) को तयारी गर्दा तीन महिनामै तयारी पुग्यो । भ्रमण वर्षको तयारी मनैबाट गर्ने हो भने नहुने हैन । भ्रमण वर्ष सुरु भइसकेको छ । यससँगै पूर्वाधार निर्माण गर्दै जानुपर्छ । सबैभन्दा ठूलो चुनौती नै ट्राफिक व्यवस्थापन हो । काठमाडौँमा प्रधानमन्त्री, राष्ट्रपति बाहिर निस्कँदा किन दुई घण्टा बाटो जाम गर्ने ? हेलिकप्टरबाटै गए हुन्छ । ९० प्रतिशत ट्राफिक जामको कारण उचित प्रणाली नभएरै हो । प्रणालीको विकास गर्ने हो भने यो समस्या समाधान हुन्छ । यहाँ चामल पसलभन्दा बढी मोटर पसल छन् । कतिसम्म सवारी साधन चलाउन दिने हो, योजना बनाउनुपर्छ । हाम्रो बाटो साँघुरो भएर समस्या आएको होइन, प्रणाली नभएर हो । खुला ठाउँलाई पार्किङका रूपमा व्यवस्थापन गर्न सकिन्छ । सडकमै किन गाडी पार्किङ गर्ने ? मुख्य सहर र व्यापारिक ठाउँको अधिकांश सडकमै पार्किङ गरिएका छन्, किन ? त्यसको सही व्यवस्थापन गर्न सकिन्छ ।
(पर्यटन उद्यमी तथा समाजसेवी कर्ण शाक्यसँग सफल नेपालका बिशेष सम्वाददाता के आर बिजयले गर्नुभएको कुराकानीमा आधारित ।)