‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु उत्तम हो’ : डा.राजेन्द्र कोजू

‘फलानोका घरमा बूढो बा एक्लै हुनुहुन्छ, चिनी रोगसँगै मिर्गाैला खराब भएकाले साहै्र गाह्रो भएको छ। स्याहार्ने कोही छैन। कहिलेकाहीं त तातो केही खान दिने पनि भेटिँदैन, डायलाइसिस गर्न लैजाने दिन त अप्ठेरै पर्छ।’

‘हो नि मेरा छिमेकी आमा पनि सकिनसकी आफैं खाना बनाएर खानुहुन्छ। आमालाई मुटुको रोग पनि छ, अस्पताल गै राख्नुपर्छ। धन्न छोरी नजिकै छ र बेलाबखत आएर हेरचाह, औषधि ल्याइदिने गरिदिन्छे।’

‘हो भन्या अस्ति मात्र मेरा साथीका बुवालाई प्यारालाइसिस भयो। समयमै अस्पताल पुर्‍याइदिने पनि कोही भएन। उपचार पनि समयमा हुन पाएन। अहिले घरमा एकजना चाहिन्छ स्याहार्न। आमाले सक्नुहुन्न। छोरा–बुहारी व्यस्त। साहै्र गाह्रो भइराखेको छ।’

यस्तो समस्या हाम्रो समाजमा सामान्यजस्तै हुँदै गइराखेको छ। पुरानो संयुक्त परिवारको वातावरण आजभोलि निकै कम भेटिन्छ। विभिन्न कारणले व्यक्ति एक्लो परिवारमा खुम्चिँदै गएको छ। छोराछोरी हुर्किंदै गएपछि आआफ्नो पढाइ वा कामको खोजीमा घरबाहिर वा विदेशमा जाने क्रम बढ्दो छ। यसैकारण पनि बुवा आमा, बा र बाजेबज्यै घरमा एक्लै हुँदै गइराखेका छन्।

समयको परिवर्तनसँगै रोगको प्रकार पनि फेरिँदै छ। धेरै अगाडि, शारीरिक समस्या भनेको सरुवा प्रकृतिको बढी थियो। झाडाबान्ता, आउँ, क्षयरोग, छालाको संक्रमण, जरो, दादुरा आदि सरुवा रोग नै प्रमुख थिए। अहिले पनि यी रोग नभएका होइनन् तर विकासक्रममा यी रोगको रोकथाम एवं उपचार पद्घतिले उल्लेखनीय नियन्त्रण भएको छ। साथै पोषण, परिवार नियोजन, खोप कार्यक्रमसँगसँगै आर्थिक, शैक्षिक, वातावरण, जीवनशैली परिवर्तनले नेपालीको औसत आयु बढेको छ। कुनै समयमा ५० मुनि रहेको आयु अहिले ७० माथि पुगेको छ, जुन सुखद छ।

बढ्दो उमेरसँगसँगै परिवर्तित जीवनशैलीले गर्दा नसर्ने रोग पनि बढ्दै छ। चिनीरोग, उच्च रक्तचाप, मुटुरोग, मस्तिष्कघात, क्यान्सर, दमरोग, मिर्गाैला खराब, डिप्रेसन, थाइराइड आदि। यी रोग लागेपछि उपचार निरन्तर आवश्यक हुन्छ र अस्पताल गइराख्नुपर्ने हुन्छ।

हरेक दिन कम्तीमा आधा घण्टा हिँड्ने। हिँडेर पुगिने ठाउँ समयले भ्याएसम्म हिँड्ने। पत्रु खाना, गुलिया पेय पदार्थ खान र केटाकेटीलाई ख्वाउन छाड्ने। अझै खान मन छ भन्ने बेलामै मुख चुठ्ने। पानी प्रशस्तै पिउने। तनाव कम गर्ने अभ्यास सुरु गर्ने। रक्सी छोड्ने। चुरोट छोड्ने।

विकसित राष्ट्रहरू, जहाँ स्वास्थ्य बिमा पनि छ, यी दीर्घरोगका उपचार व्यक्तिको लागि केही सरल छन्, यद्यपि स्वास्थ्य खर्च निकै बढेको छ। हाम्रो देशमा पूरै स्वास्थ्य बिमा नभएको अवस्थामा, आफैंले रोगको उपचार खर्च जुटाउनुपर्ने भएकाले यी रोगको उपचार व्यक्तिका लागि महँगो पनि हुन्छ।

जतिजति उमेर बढ्दै गयो त्यति सहायताको पनि जरुरत पर्दै जान्छ। मुटु रोग, दम हुनेहरूलाई उकालो हिँड्दा स्याँस्याँ हुने हुन्छ, मस्तिष्कघात भएकाहरूलाई शरीरका भाग नै नचल्ने हुन सक्ने भएकाले आफ्नो हेरचाह नै गर्न सक्दैनन्। त्यस्तै मिर्गाैला धेरै खराब भएको छ भने खुट्टा सुनिने, स्याँस्याँ आउने, कमजोर हुने हुन्छ। क्यान्सर भएकाहरूलाई शरीरको अंगअनुसार दुख्ने, कमजोर हुने हुन सक्छ। यस्तो समस्या हुँदा एक्लोपनले झन् गाह्रो हुन सक्छ।

यी हुन सक्ने रोगव्याधी, परिस्थितिलाई पूरै रोकथाम गर्न नसकिएला। अथवा उमेर बढ्दै गएपछि धेरै गाह्रो भयो भने इच्छ मृत्यु पाउन त झन् नसकिएला। तर दीर्घरोगलाई सक्दो रोकथाम गर्ने र भइहाल्यो भने पनि सहज तरिकाले व्यवस्थापन गर्ने वातावरण बनाउन पहलचाहिँ सायद जोकसैले पनि गर्नैपर्ने हुन्छ।

हामी सबैलाई थाहा भएकै कुरा हो, ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु उत्तम हो’ यानि कि रोकथाम सर्वोत्तम हो। खुसीको कुरा– यी सबै दीर्घरोगको रोकथामका उपाय थुप्रै छन्। प्रायः सबै रोगका कारकतत्वमा हाम्रा परिवर्तित जीवनशैली र वातावरणीय प्रभाव नै प्रमुख छन्। हो हाम्रो उमेर, हाम्रो लिंग, हाम्रो वंशाणु अपरिवर्तनीय छ। तर परिवर्तनीय थुप्रै छन्।

उदाहरणका लागि फोक्सोको क्यान्सर हुनुमा धूमपान प्रमुख कारक हो। धूमपान एउटा अम्मल हो, जुन त्याग्न पनि सकिन्छ। अनियन्त्रित उच्च रक्तचाप हुनेहरूलाई मष्तिस्कघात हुने सम्भावना धेरै हुन्छ। तसर्थ उच्च रक्तचाप नियन्त्रणमा राख्यो भने मष्तिस्कघात हुने सम्भावना कम हुन्छ। रगतमा खराब चिल्लो पदार्थ (एलडीएल) धेरै हुनेहरूको धमनी साँघुरिने क्रम बेसी हुन्छ, अन्ततः हृदयाघात हुने सम्भावना बढ्छ। चिल्लो पदार्थ घटाउन पनि सकिन्छ। धुलो, धुवाँ, धूमपानले दमको रोग निम्त्याउँछ। त्यस्तै मोटोपना, व्यायामको कमी, अस्वस्थकर खाना, रक्सी सेवन, धेरै तनावले पनि चिनी रोग, मिर्गौला रोग, डिप्रेसन हुन मद्दत पुग्छ। अतः यस्ता बानीबाट टाढा रहनुपर्‍यो।

परिवर्तित समाजमा फेरिएको जीवनशैलीको नकारात्मक असर युवावस्था वा रोग नलागुञ्जेल त्यति ख्याल रहँदैन। यहाँ अहिले केही भएको छैन– मस्ती गर्ने हो भन्दै थाहा पाईपाई नै खराब लत बसालिरहेको पाइन्छ। यसले विस्तारै शरीरमा नराम्रो गरिराखेको हुन्छ। विस्तारै थपिँदै गएको खराब असर एकैपल्ट राम्रो पार्न सकिँदैन। त्यसैले भविष्य अलिकति मात्र गम्भीर भएर सोच्ने हो भने थोरै बानी परिवर्तन गरेर नराम्रो असरबाट बच्न सकिन्छ, धेरै दीर्घरोग रोकथाम गर्न सकिन्छ।

चुरोट, सुर्ती हानिकारक छ भन्ने थाहा हुँदाहुँदै किन सेवन गर्नुपर्‍यो ?    छोड्दिए भइहाल्यो। दृढ इच्छाशक्ति र निर्णय गर्ने व्यक्ति धेरैले चुरोट त्यागेकै छन्। त्याग्न नसक्ने कोही हुँदैन। मात्र त्याग्नुपर्छ। त्यस्तै, रक्सी सेवन किन चाहियो ?    पेट भर्छ कि पोषण दिन्छ ?    अनावश्यक सेवन त्यागे भइहाल्यो। कोक, पेप्सी, फ्रुटीजस्ता अधिक चिनी भएका पेय पदार्थ पिएर किन मोटाउनुपर्‍यो ?    जंक फुडको लतमा किन फसाउने केटाकेटीलाई ?

हरेक दिन व्यायाम गर्ने, स्वस्थ खाना खाने, पानी प्रशस्त पिउने, समयमा सुत्ने, तौल अनावश्यक बढ्न नदिने, सकारात्मक सोच्ने एवं खुसी हुनेजस्ता राम्रा बानीव्यहोरा, आफूमा पनि लागू गर्ने र छोराछोरीलाई पनि गराउन सकियो भने यी रोगबाट धेरै टाढा बस्न सकिन्छ।

कथंकदाचित रोग भई नै हाल्यो भने पनि आत्तिनु भएन। हिजोआज धेरै उपाय पनि छन्। समयमा आवश्यक परीक्षण गराएर चिकित्सकको सल्लाहबमोजिम उपचार गराउनुपर्छ। नसर्ने रोगहरूको उपचार लामो समयसम्म गर्नुपर्ने भएकाले यसबारे राम्ररी बुझ्न पनि जरुरी छ। नियमित उपचार र स्वस्थ जीवनशैली अपनाएमा रोग बढ्न नदिन पनि सकिन्छ। जस्तै– उच्च रक्तचाप, चिनिरोग भएकाले नियमित औषधि सेवन गरेमा यसबाट हुन सक्ने नराम्रो असर निकै हदसम्म कम गर्न सकिन्छ। मुटु रोग लागिसकेकै भए पनि स्वस्थ जीवनयापन गर्न सकिन्छ। प्यारालाइसिस, नियमित र अनुशासित फिजियोथेरापीले निकै सुधार हुन्छ। क्यान्सर निकै हुने खालको पनि हुन्छ।

नसर्ने रोगको प्रकोप बढ्दै छ। नसर्ने भन्दाभन्दै पनि यो हाम्रो समाजमा निकै सर्ने खालको हुँदै आएको छ। धूमपान, मध्यपान साथीभाइबाट सिक्ने। बजारी खानेकुरा, पत्रु खाना देखासिकी, विज्ञापनबाट सिक्ने थोरै हिँडाइको दूरी पनि यातायातकै प्रयोग, टीभी, मोबाइलको लत आदि बानीव्यहोरा पनि सहरीकरण र प्रतिस्पर्धाजस्ता बाध्यताबाट सर्दै आएका छन्। धेरै बानी एकैपटक परिवर्तन गर्न नसकिएला, तर एउटा बानी त दृढ मन लिएर सच्याऔं।

हरेक दिन कम्तीमा आधा घण्टा हिँड्ने, (नियमित कामबाहेक)। हिँडेर पुगिने ठाउँ समयले भ्याएसम्म हिँड्ने। पत्रु खाना, गुलिया पेय पदार्थ खान र केटाकेटीलाई ख्वाउन छोड्ने। अझै खान मन छ भन्ने बेलामै मुख चुठ्ने। पानी प्रशस्तै पिउने। तनाव कम गर्ने अभ्यास सुरु गर्ने। रक्सी छोड्ने। चुरोट छोड्ने।

( मुटुरोग बिसेषज्ञ डा.कोजू धुलिखेल अस्पतालका मेडिकल निर्देशक हुनुहुन्छ )


ताजा खबर