सहरमा धुवाँ धुलो, प्रदूषण भएको सबैमा ज्ञान छ । आफू रोगी बन्दै गएको पनि थाहा छ । खानपानमा ध्यान दिनुपर्ने विषयमा बहस गरिरहेका हुन्छौँ । तर, आफैँमा लागू गर्दैनौँ । जुन सबैभन्दा ठूलो समस्या हो । सहरमा हरेक ठाँउमा स्वास्थ्य संस्था सजिलै उपलब्ध छन् । तर, बिरामी नभई स्वास्थ्य परीक्षण गर्न जाँदैनौँ । चिकित्सकको सल्लाह एकदमै थोरैले मात्र मानिरहेका हुन्छन् । अब बानी बदल्नुपर्छ । नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । चिकित्सकको परामर्श अनिवार्य लागू गर्नुपर्छ । सहरीकरणको द्रुत विकास भइरहेछ ।
अव्यवस्थित बसोवासले बढेको प्रदूषण मुख्य स्वास्थ्य समस्या हो । बढ्दो औद्यौगीकरण, फोहोरमैला व्यवस्थापन नहुनु, अस्त–व्यस्त जीवनशैलीका कारण रोगीको संख्या बढिरहेको छ । सहरी वातावरणले स्वास्थ्यमा मात्र नभई, सामाजिक अन्तरक्रिया तथा अन्तरसम्बन्धमा पनि प्रतिकुल असर पारेको छ । त्यसकारण पनि हाम्रो जीवनशैली फेरिनु जरुरी छ ।
तनाव व्यवस्थापन
सहरी जीवनयापन सजिलो छैन । कामको चाप, एक्लोपना, आर्थिक अभाव सहरवासीका मूख्य समस्या हुन् । जसका कारणले तनाव झल्नुपर्ने हुन्छ । तर, तनाव व्यवस्थापनका लागि कुनै उपाय अपनाइँदैन् । फलस्वरूप अत्यधिक तनावले विभिन्न प्रकारका मानसिक रोग बढ्दै गइरहेका छन् । सामाजिक समस्या पनि अत्यधिक तनावको उपज हो । तसर्थ सकेसम्म तनाव व्यवस्थापन गराैँ । दैनिक पसिना आउने गरी व्यायाम गर्नुपर्छ । सकेसम्म हिड्नुपर्छ । कामबाट आफ्ना लागि समय निकालेर केही समयको अन्तरालमा सहरबाहिर निस्कनुपर्छ । जसले गर्दा तनाव व्यवस्थापन गर्न सकिन्छ ।
सडकमै फोहोर फाल्ने, दाउरा घरबाहिरै बाल्ने, टोल छिमेक सफा नगर्ने, तर नगरपालिकालाई गाली गर्ने सहरवासीका नराम्रा बानी हुन् । शिक्षित वर्गले यस्ता बानी सुधार्न जरुरी छ ।
सभ्य बनौँ
‘आफूले नियम मिच्दा ठीक, अर्काले नियम मिच्दा बेठीक’ भन्ने सोच बदल्नुपर्छ । यस्ता खालका बहस खुब सुनिन्छ । यो शिक्षित वर्गको नराम्रो बानी हो । जस्तै, आफूले ट्राफिक नियमको पालना गर्दैनौँ तर अरूले नियम मिचेको देखेमा कमेन्ट गर्छौँ । आफूले बाटोमा फोहोर फाल्छाैँ, अरूले फोहोर फालेर दुर्गन्धित भएको देखे गाली गर्छौँ । पहिला आफू सभ्य बन्नुपर्छ । घरपालुवा कुकुरलाई जथाभावी दिशापिसाब गराउनुहुँदैन । प्लास्टिक तथा फोहोर जथाभावी जलाउनुहुँदैन । सडकमै फोहोर फाल्ने, दाउरा घरबाहिरै बाल्ने, टोल छिमेक सफा नगर्ने तर नगरपालिकालाई गाली गर्ने सहरवासीका नराम्रा बानी हुन् । शिक्षित वर्गले यस्ता बानी सुधार्न जरुरी छ ।
अरूलाई स्थान दिऔँ
धेरै मानिस भएको ठाँउमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो । तर, यसले हरेक ठाँउमा म नै अगाडि हुनुपर्छ भन्ने बानीको विकास गर्दै छ । यो समाजका लागि राम्रो होइन । अरूलाई स्थान र समय दिने बानीको विकास गरौँ । जसले गर्दा सामाजिक सम्बन्ध सुर्धान सकिन्छ । समाज व्यवस्थापन गर्न सकिन्छ । जस्तै, सार्वजनिक यातयातमा हामी ठेलमठेल गरेर चढिरहेका हुन्छौँ । आरक्षण सिटको समेत दुरुपयोग भइरहेको हुन्छ । यस्ता घटना सामान्य बनिसके । तर, सामान्य बन्नु हुँदैन थियो । यसले समाजमा संस्कार, सम्मानजस्ता विषय बिर्सँदै गएको संकेत दिन्छ । तसर्थ अरूलाई स्थान दिन सिक्नु जरुरी छ ।
(प्रा. डा. कोइराला बरिष्ठ मुटु शल्यचिकित्सकका रुपमा मनमोहन कार्डियो थोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा कार्यरत हुनुहुन्छ हुनुहुन्छ ।)