सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संबिधानको मर्म विपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अबस्था आए आफैं राजीनामा दिएर आन्दोलनमा उत्रने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ, भक्तपुर शाखाको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको बताउनुभयो ।
उहाँले ‘अब कमिसन पत्रकारिता धेरै नचल्ने बताउँनुहुँदै आफ्नो र अर्काको भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्नसक्ने वातावरण बन्नुपर्ने बताउनुभयो ।
मन्त्री बाँस्कोटाले पत्रकारको हकहित भन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने स्पष्ट गर्नुहुँदै पाँच करोड ३४ लाख रुपैयाँको पत्रकारिता कल्याण कोषलाई बढाएर १० करोड रुपैयाँ पुर्याउने उद्देश्य लिएको बताउनुभयो ।
मन्त्री बाँस्कोटाले सरकारको असन्तुष्टिसँग पत्रकारितालाई नजोड्न आग्रह गर्नुहुँदै मिडियाले गहिराईमा पुगेर लेखेमात्र तथ्य बाहिर आउने उल्लेख गर्नुभयो । -रासस