नेपाल इन्भेष्टमेन्ट बैंकले अब ‘बिग मर्जर’मा जाने निर्णय गरेको छ । सोमबार बैंकको वार्षिक साधारणसभामा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बिग मर्जर नगरी सुख नभएको बताउनु भयो ।
अहिलेकै जस्तो तरिकाले चल्दा बैंकहरुले विगतको जस्तो लाभांश आगामी दिनमा बाँड्न नसक्ने तर्क दिँदै अध्यक्ष पाँडेले एक्लै हिँड्दा खर्चले पनि धान्न सक्दैन तसर्थ मर्जरमा जानु पर्छ भन्ने प्रस्ताव बैठक समक्ष राख्नु भएको थियो ।
साधारणसभामा अध्यक्ष पाँण्डेले बिग मर्जरको लागि तीनवटा बैंकसँग कुराकानी थालिसकेको बताउनु भयो । राष्ट्र बैंकले इन्भेष्टमेन्टलाई हिमालयन बैंकसँग मर्ज गर्न सुझाव दिँदै आएको छ ।
साधारणसभाले साँढे ८ प्रतिशत नगद लाभांश र साढे १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले मर्जरको आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ । -रासस