धर्मशास्त्रमा मकर सङ्क्रान्ति अर्थात् माघे सङ्क्रान्ति : डा. उत्तम उपाध्याय न्यौपाने

नेपालमा मनाइने धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरूमध्ये मकर सङ्क्रान्तिको विशेष महत्त्व रहेको छ। विशेष गरी यो नेपालको तराई क्षेत्रका जिल्लाहरूमा छरिएर रहेका थारु समुदायहरूले मनाउने सबैभन्दा ठूलो चाडको रूपमा पनि मानिएको छ।

माघ १ गतेदेखि सूर्य मकर राशिमा प्रवेश गर्ने हुँदा माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। सङ्क्रान्तिको अर्थ सूर्य एउटा राशिबाट अर्को राशिमा प्रवेश गर्नु हो। यस दिनदेखि दिनभन्दा रात छोटो हुँदै जान्छ।
यस दिन तिलको लड्डु, खिचडी, घिउ, चाकु, तरुल, पालुङ्गो खाएर सङ्क्रान्ति मनाउने प्रचलन रहेको छ। यस्ता परिकारहरू खानाले त्रिदोष नाश हुन्छ भन्ने धर्मशास्त्रमा लेखिएको छ। त्यसैगरी यस दिन शरीरमा तेलले मालिस गर्नाले शरीरको सम्पूर्ण दूषित पदार्थ बाहिर निस्किन्छ भन्ने विश्वास छ। यस दिन तेलले मालिस गर्नाले शरीरका नाडी तथा स्नायुमण्डल र हड्डीहरू सुदृढ र स्वस्थ रहन्छन् भन्ने पनि मान्यता छ।

यस पर्वमा देवघाट, त्रिवेणी, त्रिशूली, कालीगण्डकी, वागमतीका साथै अन्य तीर्थ तथा नदीहरूमा भक्तजनहरूको भीड लाग्दछ। त्यसैले तराईवासीहरू यसलाई नहान अर्थात् नुहाउने पर्वको रूपमा पनि मान्दछन्। यस पर्वमा तिल दान गर्नाले सुन दान सरह पुण्य प्राप्त हुने धर्मशास्त्रमा उल्लेख गरिएको छ।

धर्मशास्त्रमा व्याख्या गरिए अनुसार सूर्य उत्तरायण भएको बेलामा यदि मृत्यु भएको खण्डमा उत्तम मानिन्छ। मृत्यु शय्यामा रहेका भीष्मले मृत्युका लागि उत्तरायण पर्खेको कुरा महाभारतमा उल्लेख गरिएको छ। मकर सङ्क्रान्तिलाई देवीका रूपमा मानिने परम्परा पनि रहेको छ। यी देवीले कालो, सेतो र रातो रङको वस्त्र लगाएकी हुन्छिन्, हातमा त्रिशूल र धनुष लिएकी हुन्छिन्, र हात्तीमा चढेर पूर्व दिशाबाट आई पश्चिम दिशातर्फ लाग्दछिन् भनेर व्याख्या गरिएको छ। यिनले जो ग्रहण गर्छिन् त्यो बहुमूल्य हुन्छ र जसलाई हेर्छिन् त्यसको नाश हुन्छ पनि भनिएको छ।

नेवारी सम्प्रदायमा यो चाड घ्यःचाकु संल्हु (घिउ र चाकु सङ्क्रान्ति) र हामो संल्हु (तिल सङ्क्रान्ति) का नामले मनाइन्छ। त्यसैले माघे सङ्क्रान्तिमा तिलका लड्डु खाने प्रचलन रहेको छ। यसबाहेक घिउ, चाकु, सेलरोटी, तरुल, खिचडी खाने परम्परा रहेको छ भने घरघरमा खेलको रूपमा गिर खेल्ने प्रचलन पनि रहेको छ। माघको जाडोमा यी वस्तु खानाले शरीरको तापक्रम बढ्ने र शरीर स्वस्थ हुने र अरूलाई खुवाएमा धर्म मिल्ने कथन छ। धर्मसिन्धुमा भनिएको छ, माघे सङ्क्रान्तिमा जसले उक्त खानेकुरा खाँदैन, दान पनि गर्दैन, तीर्थमा स्नान, दान, तर्पण गर्दैन, जलाशयमा गएर स्नान गर्दैन, त्यो व्यक्ति जन्मभर रोगी भइरहन्छ। जसले दान, ध्यान, धर्म गर्छ, ऊ पुण्यको भागी हुन्छ र सन्तानबाट सुख, शान्ति, समृद्धि प्राप्त गर्दछ भन्ने पुराणहरूमा व्याख्या गरिएको छ। –सफल नेपाल,काठमाडौं


ताजा खबर