प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आज (बुधबार) सभामुख महराको राजीनामा स्वीकृत गरेकी हुन् । यौन दुराचारको आरोप लागेपछि छानबिनमा सहज होस् भन्दै सभामुख महराले मंगलबार उपसभामुख तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए ।
संसद् सचिवालयले बुधबार सूचना प्रकाशित गरी महराको राजीनामा स्वीकृत भएको जानकारी गराएको छ ।
सभामुख महराले बलात्कारको आरोप लागेपछि मंगलबार दिएको राजीनामापत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए ।
संसद् सचिवालयका अनुसार उपसभामुख तुम्बाहाम्फेको आदेशअनुसार प्रतिनिधिसभाको नियमावली, २०७५ को नियम २११ को उपनियम (२) बमोजिम सूचना जारी गरेको उल्लेख छ । नियमावलीको २११ को उपनियम (२) मा राजीनामाबारे संसद बैठक चालू नरहेका बेला सूचनापत्रमा प्रकाशित गरिने उल्लेख छ ।