सरकारले ज्येष्ठ नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत भाडा छुट गराउने भएको छ ।
राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आज बसेको बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको व्यवस्था नीतिगत रूपमै कार्यान्वयन भइरहेकाले सार्वजनिक यातायातभित्रै पर्ने हवाई यातायातको भाडा छुट गर्न मन्त्रालयले हवाई कम्पनीहरूसँग सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
काम गर्न सक्ने ज्येष्ठ नागरिकहरूलाई आगामी वर्षको बजेटमा आयआर्जनमा संलग्न गराउने गरी कार्यक्रमहरू ल्याउनेबारे छलफल भइरहेको जानकारी दिँदै मन्त्री श्रेष्ठले सरकारले सातै प्रदेशमा ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्न लागेको जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकहरूलाई आश्रममा भन्दा पारिवारिक व्यवस्थापनमै जोड दिनुपर्ने बताउँदै मन्त्री श्रेष्ठले उहाहरुको ज्ञान, सीप र अनुभव पुस्तान्तरणका लागि नीतिगत कामहरू गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा मन्त्रालयका सचिव राधिका अर्यालले हाल १६ लाख ६० हजारले वृद्धा भत्ता पाइरहेको, ८५ वर्षमाथिका वृद्धवृद्धाको निःशुल्क उपचार व्यवस्था मिलाइएको र देशभर एक सय १६ वटा वृद्धा आश्रममा रहेको जानकारी दिँदै छोराछोरीमा हस्तान्तरण गरिएको सम्पत्ति पुन प्राप्ति गर्ने कानुनका लागि छलफल भइरहेको बताउनुभयो ।
बैठकमा सांसदहरु सुमित्रा बिसी, गोमादेवी तिमल्सिना, रुक्मिणी कोइराला, नरबहादुर विष्ट, युवराज शर्मा र मदनकुमारी शाहले राष्ट्रियसभाबाट पारित ज्येष्ठ नागरिक सम्बन्धि सङ्कल्प प्रस्ताव कार्यान्वयनमा सरकारले ध्यान दिन नसकेको बताउनुभयो ।
उहाँहरूले वृद्धा भत्ता ज्येष्ठ नागरिकले नपाएर परिवारका सदस्यले हिनामिना गर्ने गरेको भन्दै, ज्येष्ठ नागरिकको हातमै भत्ता पुर्याइनुपर्ने, सार्वजनिक यातायातमा ४ वटा सिट छुटाइनुपर्ने, आश्रमहरूमा पानी बिजुली निःशुल्क गरिनुपर्ने र पाठ्यक्रममा ज्येष्ठ नागरिकका बारे पठनपाठनको व्यवस्था गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
बैठकमा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ र उपाध्यक्ष शारदा चन्दले सरकारले ज्येष्ठ नागरिकको भत्ता बढाउन, अब बन्ने संरचना ज्येष्ठ नागरिक मैत्री बनाउन र स्वास्थ्य बिमालाई शतप्रतिशत गराउन माग गर्नुभयो । रासस






















