ॐ हस्पिटल कर्मचारी युनियनको नयाँ कार्यसमितिको सपथ ग्रहण सम्पन्न

ॐ हस्पिटल कर्मचारी युनियनको माघ २० गते सम्पन्न ‘निर्वाचन २०८२‘ बाट नयाँ कार्यसमिति चयन भएको छ।

नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ ग्रहण तथा पूर्व पदाधिकारीहरुको बिदाई तथा सम्मान कार्यक्रम २६ गते सोमबार भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।

निर्वाचनपश्चात् भवानी शंकर चौलागाईँको नेतृत्वमा चयन भएको १३ सदस्यीय कार्यसमितिले औपचारिक रूपमा कार्यभार सम्हालेको हो। कार्यक्रमको अध्यक्षता कर्मचारी युनियनका निबर्तमान अध्यक्ष केशब प्रसाद चौलागाईँले गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत, विशिष्ट अतिथिका रूपमा मेडिकल डाइरेक्टर डा. हरिश जोशी, नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ तथा प्रमुख वित्त अधिकृत धुर्व प्रसाद सुवेदीको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रारम्भमा कर्मचारी युनियनका तर्फबाट बिक्रम मुडभरीले स्वागत मन्तव्य दिनुभएको थियो भने त्यसपछि युनियनका सचिवद्वारा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा बोल्दै नर्सिङ डाइरेक्टर, मेडिकल डाइरेक्टर तथा प्रमुख कार्यकारी अधिकृतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँहरुले कर्मचारी युनियन र व्यवस्थापनबीचको सहकार्यले कर्मचारीको हक–हित संरक्षण र संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

निर्वाचन समितिका संयोजक विपिन जङ्गम तथा सदस्यहरू विनोद अधिकारी र लवराज अवस्थीको उपस्थितिमा नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको थियो। सो अवसरमा निःवर्तमान अध्यक्षद्वारा बिदाइ सम्बोधन, नवनियुक्त अध्यक्षद्वारा आसन ग्रहण तथा मन्तव्य प्रस्तुत गर्दै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो।

नवनिर्वाचित कार्यसमितिमा संरक्षक: केशब प्रसाद चौलागाई, अध्यक्ष: भवानी शंकर चौलागाई, सहअध्यक्ष: गुणराज मुडभरी, उपाध्यक्ष: सबिना ढकाल, सचिव: नविन क्षेत्री, सहसचिव: इन्द्र बहादुर बस्नेत, कोषाध्यक्ष: आस्था कटुवाल,  सदस्यहरू: जनार्दन खनाल, मञ्जु बिष्ट भट्टराई, न्हुच्छे महर्जन, सरिना केसी, लक्ष्मण श्रेष्ठ, पूजा तुलाधर र तिर्थ बहादुर श्रेष्ठ र सल्लाहकारमा बिक्रम मुडभरी चयन हुनुभएको छ।

ॐ हस्पिटल कर्मचारी युनियनको विधानअनुसार प्रशासकीय व्यवस्थापक विपिन जङ्गमको संयोजकत्वमा व्यवसाय विकास व्यवस्थापक विनोद अधिकारी र मानव संसाधन विभाग प्रमुख लवराज अवस्थी सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरेको जनाएको छ।

कार्यक्रमको अन्त्यमा ॐ हस्पिटल कर्मचारी युनियनका नव निर्वाचित अध्यक्षले युनियन परिवारका तर्फवाट निर्वाचन समितिलाई धन्यवाद दिँदै नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी तथा उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।


ताजा खबर