कुमारी बैंक लिमिटेडलाई आईएसओ प्रमाणपत्र

कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ/आईईसी २७००१ः२०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको देखाउने बैंकले जनाएको छ।

आईएसएमएसमा मूलतः ९३ वटा नियन्त्रणहरू हुन्छन्, जसलाई संस्थागत (३७), मानिस (८), भौतिक (१४) र प्राविधिक (३४)मा विभाजन गरिएको हुन्छ। यी नियन्त्रणहरू कार्यान्वयन भए नभएको स्वतन्त्र बाह्य अडिटमार्फत सुनिश्चित गरी आईएसओ/आईईसी २७००१ः२०२२ प्रमाणपत्र प्रदान गरिन्छ ।

यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा जोखिम पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्ने राम्रो क्षमता रहेको र सो अन्तर्राष्ट्रिय मापदण्डबमोजिम रहेको सुनिश्चित गर्दछ । साथै, यस प्रमाणपत्रमार्फत बैंकले ग्राहकहरुको तथ्याङ्क सुरक्षित तथा गोप्य राखेको, आवश्यक परेको बेला उपलब्ध गराउने, अनधिकृत पहुँचबाट जोगाउने गरेको र सुदृढ सुरक्षा प्रणाली कार्यान्वयन गरिरहेको छ भनि प्रमाणित गर्छ ।

डिजिटल बैंकिङ्ग सेवाहरूको तीव्र विस्तारसँगै साइबर सुरक्षा र डाटा गोपनीयता ग्राहक तथा सरोकारवालाहरूको प्रमुख चासोको विषय बनेको अवस्थामा यस बैंकले मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कार्ड सेवा तथा आन्तरिक प्रणालीहरूमा उच्चस्तरीय सुरक्षा मापदण्डहरु लागू गरेको छ ।

यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले भने, ‘ग्राहकको विश्वास नै बैंकिङ्ग सेवाको आधार हो।आईएसओ/आईईसी २७००१ः२०२२  प्रमाणपत्र प्राप्त गर्नु  ग्राहकको वित्तीय सूचनाको सुरक्षाप्रति हाम्रो दृढ प्रतिबद्धताको प्रतिविम्ब हो । सुरक्षित र विश्वसनीय बैंकिङ्ग वातावरण प्रदान गर्न हामी प्रविधि, जनशक्ति र प्रक्रियामा निरन्तर लगानी गर्दै जानेछौँ।’

बैंकले नियमित जोखिम मूल्याङ्कन, कर्मचारी सचेतना कार्यक्रम, सुरक्षा परीक्षण तथा निरन्तर निगरानी प्रणालीमार्फत सम्भावित साइबर जोखिमहरूको रोकथाम, पहिचान तथा व्यवस्थापन गर्ने संरचना कार्यान्वयन गर्दै आएको छ ।

बैंकले सूचना सुरक्षा एक पटकको उपलब्धि नभई निरन्तर सुधारको प्रक्रिया भएको र आगामी दिनहरूमा पनि नियामक मापदण्ड तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू अनुरूप आफ्ना सुरक्षा संयन्त्रहरू थप सुदृढ गर्दै जाने प्रतिबद्धता जनाएको छ।


ताजा खबर