राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा पार्टीद्वारा आज आयोजित सभामा सार्वजनिक गरिएको वाचा पत्रमा राज्य संरचना, अर्थतन्त्र, डिजिटल रूपान्तरण, ऊर्जा, शिक्षा, स्वास्थ्य, कूटनीति र सुशासनका क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गरिएको छ ।
यस्तै पार्टीले रूपान्तरणका लागि ‘नीतिगत प्रस्थानका १०० आधार’ समेत वाचा पत्रमा उल्लेख गरेको छ ।
रास्वपाले भदौ २३ र २४ मा भएको ’जेन–जी’ आन्दोलनका घटनाको छानबिन प्रतिवेदन पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता समेत गरेको छ ।
रास्वपाले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था लागु गर्ने घोषणा गरेको छ । साथै पूर्ण समानुपातिक संसदीय व्यवस्था, सांसद मन्त्री हुन नपाउने र गैर दलीय स्थानीय सरकारजस्ता एजेन्डासहित संविधान संशोधनका लागि राष्ट्रिय बहस थाल्ने वाचा गरेको छ ।
सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत तथा राष्ट्रियकरण गर्ने गरी कार्यविधि बनाउने घोषणा समेत पार्टीले गरेको छ
सहकारी र लघुवित्त क्षेत्रलाई कडा नियमनमा ल्याउने, साना बचतकर्ताको रकम १०० दिनभित्र फिर्ता गर्ने र ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्ने प्रतिबद्धता पनि पार्टीले गरेको छ ।
वाचा पत्रमा राष्ट्रिय रणनीतिक उद्योग र सातै प्रदेशमा डिजिटल पार्क निर्माण गरी सूचना प्रविधिको क्षेत्रमा ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।






















