उड्ने ट्याक्सी ‘म्याट्रिक्स’ (इभिटिओएल) बनाउँदै चीन

चीनमा विकास भइरहेको ठुलो विद्युतीय विमान ‘म्याट्रिक्स’ ले भविष्यमा उडान ट्याक्सी सेवा कस्तो देखिन सक्छ भन्ने सङ्केत दिएको छ । दक्षिणपूर्वी चिनियाँ सहर कुन्सानमा परीक्षण भइरहेको यो १० यात्रु क्षमताको विद्युतीय विमानलाई चीनमा हालसम्म निर्माण गरिएको सबैभन्दा ठुलो सिधै माथि उड्न र सिधै अवतरण गर्न सक्ने (इभिटिओएल) विद्युतीय विमान मानिन्छ ।

साङ्घाई बन्दरगाहबाट करिब ६० किलोमिटर पश्चिममा रहेको कुन्सानस्थित एक ह्याङ्गरमा हालै यस विमानको प्रदर्शन गरिएको थियो । विशाल ड्रोन जस्तै देखिने ‘म्याट्रिक्स’ करिब पाँच टन तौलको इभिटिओएल विमान हो, जसले भविष्यमा सहरभित्रको हवाई ट्याक्सी सेवाको सम्भावनालाई सङ्केत गरेको छ ।

सन् २०१७ मा स्थापना भएको चिनियाँ कम्पनी अटोफ्लाइटले यो विमान विकास गरेको हो । कम्पनीका अनुसार म्याट्रिक्सले एक पटकमा १० जनासम्म यात्रु बोक्न सक्छ । यसको पखेटाको फैलावट करिब २० मिटर (लगभग ६६ फिट) छ भने विमानको लम्बाइ १७.१ मिटर र उचाइ ३.३ मिटर रहेको छ । पूर्ण रूपमा चार्ज गरिएको अवस्थामा यसले करिब एक घन्टासम्म उडान भर्न सक्ने क्षमता राख्छ ।

अटोफ्लाइटले एसोसिएटेड प्रेसका लागि आफ्नो कम उचाइ उडान परीक्षण केन्द्रमा यसको प्रत्यक्ष उडान प्रदर्शन पनि गराएको थियो । चिसो दिनमा गरिएको उक्त प्रदर्शनमा कर्मचारीले म्याट्रिक्सलाई ह्याङ्गरबाट हेलिप्याडमा सारेपछि उडानका लागि तयारी गरिएको थियो ।

प्रोपेलरहरू सुरु गरिएपछि केही मिनेटसम्म प्रणालीको जाँच गरियो । सबै उपकरण ठिक रहेको पुष्टि भएपछि विमान विस्तारै आकाशतर्फ उड्न थाल्यो । यसको आवाज सुनिन्थ्यो तर सामान्य हेलिकोप्टरको तुलनामा कम थियो । करिब १० मिनेटसम्म उडान भरेपछि र हेलिपोर्ट वरिपरि दुई चक्कर लगाएपछि म्याट्रिक्स सहज रूपमा फर्किएर सुरक्षित अवतरण गरेको थियो ।

यद्यपि यस्तो प्रविधि व्यापक रूपमा प्रयोगमा आउन अझै केही समय लाग्ने देखिन्छ । अटोफ्लाइटका वरिष्ठ उपाध्यक्ष स्टिभन याङका अनुसार उडान ट्याक्सी वास्तविक सेवाका रूपमा कहिले सञ्चालनमा आउला भन्ने प्रश्नको स्पष्ट उत्तर दिन अहिले कठिन छ । उहाँले कम्पनीसँग पहिले नै दुई टन क्षमताको यात्रुवाहक इभिटिओएल विमान तयार भइसकेको तर आवश्यक प्रमाणीकरण प्रक्रियाको प्रतीक्षामा रहेको जानकारी दिनुभयो । अटोफ्लाइटले सन् २०२७ सम्म नियामक निकायबाट ‘टाइप प्रमाणपत्र’ प्राप्त गर्ने अपेक्षा गरेको उहाँले बताउनुभयो । यस्तो प्रमाणपत्रले विमानको डिजाइनले सुरक्षा मापदण्ड पूरा गरेको पुष्टि गर्छ तर यात्रु बोकेर सञ्चालन गर्न ‘अपरेटर प्रमाणपत्र’ लगायत अन्य स्वीकृति पनि आवश्यक पर्ने छन् ।

हाल म्याट्रिक्स अझै प्रोटोटाइपकै चरणमा रहेको छ । चीनका अन्य केही कम्पनीले पनि इभिटिओएल विमान विकास गरिरहेका छन् । गुआङडोङ प्रान्तमा आधारित एहाङ कम्पनीले विकास गरेको विमानलाई व्यावसायिक यात्रु सेवा सञ्चालनका लागि अधिकारीले प्रमाणीकरण प्रदान गरिसकेका छन् तर व्यावहारिक सेवा अझै सुरु भएको छैन ।विशेषज्ञका अनुसार यस्तो उडान ट्याक्सी सेवा सञ्चालन गर्न अनुमति मात्र पर्याप्त हुँदैन । त्यसका लागि आवश्यक पूर्वाधार, उडान मार्ग, सुरक्षा प्रणाली र सञ्चालन व्यवस्थापन पनि तयार हुनु पर्छ ।

चीनले पछिल्लो समय ‘कम उचाइ अर्थतन्त्र’ नामक अवधारणालाई अघि बढाइरहेको छ । यस अन्तर्गत ड्रोन तथा साना उडान उपकरणको प्रयोग विस्तार भइरहेको छ । उदाहरणका लागि दक्षिणी सहर सेन्जेनमा अहिले नै ड्रोनमार्फत खाना डेलिभरी सेवा सञ्चालन भइरहेको छ ।

न्याटिक्सिस कर्पाेरेट एन्ड इन्भेस्टमेन्ट बैङ्किङका वरिष्ठ अर्थशास्त्री ग्यारी एन्गले उडान ट्याक्सी उद्योगको विकासलाई नजिकबाट अध्ययन गरिरहनुभएको छ । उहाँका अनुसार चीनले सुरक्षा सुनिश्चितता, आवश्यक पूर्वाधार निर्माण तथा उडान मार्ग व्यवस्थापन जस्ता चुनौती पार गर्नुपर्ने छ ।

उहाँले प्रविधि मात्र पर्याप्त नभएको उल्लेख गर्दै यससँग सम्बन्धित सम्पूर्ण इकोसिस्टम अझै पूर्ण रूपमा विकसित भइनसकेको बताउनुभयो । उहाँका अनुसार व्यावहारिक रूपमा यस्तो सेवा देखिन कम्तीमा पनि थप तीन वर्ष लाग्न सक्छ ।

यद्यपि म्याट्रिक्सको परीक्षण उडान हेर्दा भविष्यमा सहरमाथि यस्ता विद्युतीय विमान देखिने सम्भावना भने स्पष्ट देखिन्छ । अटोफ्लाइटका याङका अनुसार विद्युतीय उडान ट्याक्सी अन्ततः वास्तविकतामा परिणत हुने विश्वास कम्पनीलाई छ तर यस्तो भविष्य निर्माण गर्न एउटा कम्पनीको प्रयास मात्र पर्याप्त नहुने र सम्पूर्ण उद्योग तथा पूर्वाधारको संयुक्त विकास आवश्यक पर्ने उहाँले उल्लेख गर्नुभयो ।


ताजा खबर