नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिनुभएको छ। सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पत्र बुझाउनुभएको हो।
पार्टीका एक पदाधिकारीका अनुसार उक्त राजीनामाबारे भोलि बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ। उहाँले दिनुभएको राजीनामा पत्र हालसम्म सार्वजनिक गरिएको छैन। शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको केन्द्रीय समिति बैठकले राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ।
प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि नैतिक जिम्मेवारी वहन गर्दै सभापति थापाले पदबाट राजीनामा दिनुभएको हो। फागुन २१ गते सम्पन्न निर्वाचनमा उहाँ सर्लाही–४ बाट पराजित हुनुभएको थियो।
निर्वाचन परिणामपछि पार्टीभित्र उहाँप्रति आलोचना बढ्दै गएको थियो र राजीनामाको मागसमेत उठिरहेको थियो।






















