फिफा विश्वकप २०२६ मा सहभागी हुने ४८ टोलीको टुङ्गो लागेको छ।
अन्तिम चरणमा ६ टोली विश्वकपमा लागि छनोट भएपछि विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको हो।
डेमोक्रेटिक रिपब्लिक अफ द कंगो र इराकले अन्तिम २ टोलीका रुपमा विश्वकपमा स्थान बनाएपछि विश्वकप खेल्ने टोलीको समीकरण पूरा भएको हो। कंगोले ५ दशकपछि विश्वकपमा स्थान बनाउन सफल भयो।
२३औँ संस्करणको विश्वकप ११ जुनदेखि १९ जुलाईसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा हुँदै छ।
विश्वकपका लागि छनोट खेल सेप्टेम्बर २०२३ देखि सुरु भएको थियो। विश्वकप छनोटको यात्रा सुरु हुँदा चार पटकको च्याम्पियन इटाली लगातार तेस्रो पटक पनि विश्वकपका छनोट हुन सकेन।
सन् २०२२ मा कतारमा भएको विश्वकपमा ३२ टोली सहभागी थिए। त्यसको चार वर्षपछि पहिलो पटक ४८ टोलीले विश्वकपमा सहभागिता जनाउँदै छन्।
पहिलोपटक धेरै देश सहभागी हुने विश्वकपमा तीन देशमा पहिलो पटक १ सय ४ खेल हुनेछन्। तीन देशका १६ सहरमा विश्वकपको महाकुम्भ सुरु हुनेछ।

अमेरिकाका ११ सहर, मेक्सिकोका तीन र क्यानडाका २ सहरमा ११ जुनदेखि विश्वकप सुरु हुनेछ। यो विश्वकप ३९ दिन चल्दै कीर्तिमान कायम गर्नेछ।
कतार विश्वकपमा ३२ देश सहभागी हुँदा २९ दिन र २०१४ र २०१८ को विश्वकप ३२ दिन विश्वकप भएको थियो।
पहिलो पटक ४८ टोली सहभागी हुँदा चार टोलीलाई समेट्दै १२ समूहमा विभाजन गरिएको छ।
प्रिमियर लिगको सिजन सकिएको १८ दिनपछि विश्वकपको उद्घाटन खेलमा मेक्सिको सिटीको एस्टाडियो एज्टेकामा घरेलु टोलीले दक्षिण अफ्रिकाको सामना गर्नेछ।
१२ समुहका शीर्ष २ र तेस्रो स्थानमा रहने आठ उत्कृष्ट टोलीले नकआउट चरणमा स्थान बनाउनेछनु। ३२ टोलीबाट नकआउट चरण सुरु हुनेछ। जुलाइ १९ मा न्यु जर्सीको मेटलाइफ स्टेडियममा विश्व च्याम्पियन पाउनेछ। रासस






















