राष्ट्रिय सभाका १८ सिटका लागि आज मतदान हुँदै

राष्ट्रिय सभाका १८ सिटका लागि मतदान आज हुँदै छ । राष्ट्रिय सभामा २० फागुनदेखि रिक्त हुने १८ पदका लागि निर्वाचन हुन लागेको हो। मतदानका लागि  स्थानीय तह सदस्य तथा प्रदेश सभाका मतदाताहरू सम्बन्धित प्रदेशको निर्वाचन केन्द्रमा भेला भइसकेका छन्। मतदानका लागि निर्वाचन आयोगले आज बिहान १० देखि अपरान्ह ४ बजेसम्म समय तोकेको छ।

सातवटा प्रदेशका ५५० प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कुल दुई हजार ५६ जना मतदाता रहेको आयोगले जानकारी दिएको छ । एउटा मतदानस्थलमा दुई वटा मतदान केन्द्र राखिएको र त्यसका लागि आवश्यक सुरक्षा व्यवस्थालगायत सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नयाँ पत्रिकासँग भने ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।आयोगले प्रदेश १ का लगि मोरङको विराटगर, प्रदेश २ का लागि धनुषाको जनकपुर, बागमती प्रदेशका लागि ललितपुर महानगरको ललितपुर र गण्डकी प्रदेशका लागि पोखरामा निर्वाचन केन्द्र तोकेको छ।

यस्तै, प्रदेश ५ का लागि दाङको घोराही, कर्णाली प्रदेशका लागि वीरेन्द्रनगरको सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि डोटीको सिलगढीमा मतदान केन्द्र तोकेको छ । निर्वाचनमा नेकपाका १६, नेपाली कांग्रेसका १६, समाजवादी पार्टीका सात, राष्ट्रिय जनता पार्टी नेपालका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र राष्ट्रिय जनमोर्चाका दुई जना गरी जम्मा ४५ जना उम्मेद्‌वार रहेका छन्।

निर्वाचनका लागि प्रदेश २ मा नेकपा-राजपा र कांग्रेस-समाजवादीले तालमेल गरेका छन् । प्रदेश २ मा रिक्त चार पदका लागि नेकपा-राजपाले दुई/दुई र कांग्रेस-समाजवादीले दुई/दुई पदका लागि तालमेल गरेका हुन् । सातवटा प्रदेशमा महिला समूहतर्फ सात, दलित समूहतर्फ दुई, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ दुई र अन्य समूहतर्फ सात पदका लागि निर्वाचन हुनेछ।

जसमा महिला समूहतर्फ १६, दलित समूहतर्फ पाँच, अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ पाँच र अन्य समूहतर्फ १९ जना उम्मेद्‌वार कायम भएका आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेका डा. युवराज खतिवडा (अर्थमन्त्री) को पदावधि २० फागुनमै सकिँदैछ। रिक्त हुने जम्मा १९ पदमा १८ जना निर्वाचित भएर आउनेछन्।  एकजनालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यदेवी भण्डारीले नियुक्त गर्ने छन् । -रासस


ताजा खबर