सरकारले उखु किसानको बक्यौता रकम माघ ७ गतेभित्र भुक्तानी गर्ने सहमति गरेको थियो। तर सहमति भएको दिन बितिसक्दा पनि रकम नपाए किसान फेरि आन्दोलित बनेका छन्।
विरोध स्वरुप उखु किसान शुक्रबार कालोपट्टी बाँधेर खेतमा ओर्लिए। उनीहरुले माघ महिनाभर भुक्तानी नपाए फेरि काठमाडौं आएर आन्दोलन गर्न चेतावनी दिएका छन्।
सर्लाहीका किसान धेरैपटक आन्दोलनमा उत्रिए पनि पैसा पाएनन्। त्यसपछि उनीहरु गत महिना अर्थात् पुसमा काठमाडौं आएर आनन्दोलनमा उत्रिएका थिए। आफ्नो रकम फिर्ता नलिएसम्म गाउँ नफर्कने अडानमा रहेका किसानसँग सरकारले पुस १८ गते पाँच बुँदे सहमति गरेको थियो। जस अनुसार गत मंगलवार सम्म उनीहरुले रकम पाउनुपर्ने थियो।
उक्त सहमति पछि अन्नपूर्ण चिनी उद्योगले किसानलाई ४२ करोडमध्ये तीन करोड ९० लाख रुपियाँ र महालक्ष्मी चिनी उद्योगले २१ करोड ४० लाख रुपियाँमध्ये ११ करोड ५० लाख रुपियाँ भुक्तानी गरेको थियो। तर सबै रकम भुक्तानी नभएपछि किसान आन्दोलित भएका हुन्। -सफल नेपाल, सर्लाही