लिगमा आज – मनाङ र संकटा भिड्दै

सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणमा पुर्व विजेता मनाङ र उपविजेता संकटा क्लब आमने सामने हुँदैछन् ।

बुधबार आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक खेल मात्रै हुने बताएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एक मात्रै खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

लिगको ६१ औं खेलमा दुबै टिम जित निकाल्न चाहन्छ । लिगमा अपराजित रहेको मनाङ संकटाविरुद्ध जित निकाल्दै उपाधि होडमा बलियो बन्न चाहन्छ ।

मनाङका प्रशिक्षक धनेश्वर प्रजापति संकटाविरुद्धको खेल निकैनै महत्वपुर्ण हुने बताउँछन् । उनले आफ्नो टिम जित्न लक्ष्यसहित मैदान उत्रने बताउँछन् ।
‘हामी अपरजित छौं । संकटाविरुद्ध लक्ष्य तीन अंकको हुनेछ । अंक तालिकामा यथास्थितिमा रहन जित्नैपर्ने दबाब छ ।’ उनी भन्छन् ।

अन्तिम खेलमा सरस्वतीलाई पराजित गरेको मनाङलाई संकटाविरुद्ध सबै खेलाडी उपलब्ध हुनेछन् ।

तर उसले यसअघि मछिन्द्रसँगको खेलमा झगडामा मुछिएका दुई खेलाडीलाई गुमाउने छ ।

अशोक बराल ६ तथा जगजित श्रेष्ठ ५ खेलको प्रतिबन्धमा छन् ।

प्रतिबन्धसँगै जगजित अष्ट्रेलिया फर्किसकेका छन् ।

संकटा पनि मनाङलाई रोक्ने दाउमा छ । संकटा मनाङको अपराजित यात्रालाई ब्रेक गर्न चाहन्छ ।

‘खेलाडी लयमा छन् । जित्नका लागि खेल्छौं ।’ संकटा क्लबका प्रशिक्षक विजय महर्जन बताउँछन् ।

लिगमा ८ खेल खेलेको संकटाको १२ अंक रहेको छ । ३ जित निकालेको संकटा आठौं स्थानमा छ । मनाङलाई पराजित गरेको खण्डमा संकटा पाँचौं स्थानमा उक्लने छ ।

बुधबार दुबै टिमले ४–४ विदेशी खेलाडीलाई मैदानमा प्रयोग गर्न पाउनेछन् ।


ताजा खबर