सरकारले उद्योगलाई प्राथमिकतामा राखेको छः उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले औद्योगिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २९औँ वार्षिकोत्सव समारोहका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले आवश्यकतामा आधारित उद्योगलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो ।

सबै प्रदेशमा औद्योगिक क्षेत्र स्थापनामा सरकार लागेको उहाँको भनाइ थियो । उपप्रधानमन्त्री पोखरेलले देउराली–जनता फर्मास्यूटिकल्स गौरव गर्न लायक उद्योगका रुपमा विकास हुँदै गएको बताउँदै थप गुणस्तरीय वस्तु उत्पादन गर्न सुझाव समेत दिनुभयो ।

जनतासँग गाँसिएको संस्थामात्र बाँच्न सक्ने हुँदा कम्पनीले स्वास्थ्य चेतना अभिवृद्धिमा सहयोग पुर्याउन जरुरी रहेको उल्लेख गर्दै रक्षामन्त्री पोखरेलले औषधिको अध्ययन अनुसन्धानमा समेत केन्द्रीत हुन कम्पनीलाई आग्रह गर्नुभयो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कूल खपतमध्ये ४५ प्रतिशत औषधि स्वदेशमै उत्पादन हुने गरेको बताउनुभयो ।

img

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले देउराली–जनता फर्मास्युटिकल्सले टोखा नगरपालिकाको गरिमा बढाएको बताउँदै राष्ट्रको समृद्धिका लागि उद्योगको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो ।

कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले मेहनत, परिश्रम र इमान्दार भएर अगाडि बढेका कारण कम्पनी अहिलेको अवस्थामा आएको बताउनुभयो ।

स्थानीय समाजसेवी चन्द्रविनोद चालिसेले कम्पनीले एक वर्षमा नै धेरै प्रगति हासिल गर्न सफल भएको बताउँदै थप सफलताको शुभकामनासमेत दिनुभयो ।

प्रालिका महाप्रबन्धक रिना श्रेष्ठले कम्पनीले मुटुरोग, नशासम्बन्धी रोग, मधुमेह, चर्मरोगलगायत ३२० प्रकारका औषधि उत्पादन गरिरहेको जानकारी दिनुभयो ।

विसं २०४७ माघ १६ गते स्थापना भएको कम्पनीले ५०० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको कम्पनीका अध्यक्ष दुर्गा उपाध्यायले जानकारी दिनुभयो ।

सोही अवसरमा कम्पनीमा १०, १५, २० र २५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो । -रासस


ताजा खबर