सहिद स्मारक ए डिभिजन लिग : सञ्जोकको हयाट्रिकमा थ्री स्टारको जित, एपिएफलाई हराएर मच्छिन्द्र शिर्ष स्थानमा

सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले एपिएफलाई हराएको छ । एपिएफमाथि जितसँगै मच्छिन्द्र लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

दशरथ रङ्गशालामा शनिबार सम्पन्न दोस्रो खेलमा मच्छिन्द्रले एपिएफमाथि २–१ को जित हात पार्यो । पहिलो हाफमा १–० ले पछाडि परेको मच्छिन्द्रले दोस्रो हाफमा उत्कृष्ट वापसी गर्दै एपिएफमाथि जित हात पार्दै अङ्क तालिकाको शिर्ष स्थानमा उक्लियो । खेलको ४३ औं मिनेटमा रमेश दंगालले हेडमार्फत् गोल गर्नुहुँदै एपिएफलाई १–० को अग्रता दिलाउनुभयो । राजिव लोप्चनलाई पिटर सेगुनले लडाएपछि नवीन लामाको फ्रिकिक प्रहारलाई दंगालले गोलमा परिणत गर्नुभयो ।

दोस्रो हाफको सुरुवातमै रञ्जित धिमालको कर्नरमा विशाल राई बीले ‘सिक्स यार्ड’भित्रबाट गर्नुभएको हेडर गोलमा परिणत हुँदा मच्छिन्द्रले खेल १–१ को बराबरीमा ल्यायो । खेलको ८० औं मिनेटमा मच्छिन्द्रले रञ्जित धिमालको गोलबाट २–१ को अग्रता लिन सफल भयो । उक्त अग्रता नै मच्छिन्द्रलाई एपिएफमाथि जितसँगै अङ्कतालिकाको शिर्ष स्थानमा पुर्याउन पर्याप्त भयो ।
जितसँगै मच्छिन्द्र दश खेलबाट २२ अङ्क बटुलेको छ । दोस्रो स्थानको आर्मीको २० छ । आर्मीले नौ खेलबाट उक्त अङ्क बटुलेको हो । एपिएफ भने दश खेलबाट पाँच अङ्क बटुल्दै पुछारबाट दोस्रो स्थानमा छ ।

शनिबार नै सम्पन्न पहिलो खेलमा भने थ्री स्टारले सरस्वती युवा क्लबलाई फराकिलो अन्तरले हराएको छ ।
संजोक राईले हयाट्रिक गोल गरेपछि थ्री स्टारको फराकिलो जित हात पार्न सफल भयो । दशरथ रङ्गशालामा शनिबार सम्पन्न थ्री स्टार र सरस्वतीबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा थ्री स्टारले दुई खेलाडी परिवर्तन गर्दा सरस्वतीलाई शान्त्वना गोल पनि फर्काउन दिएन । खेलको ४८ औं मिनेटमा लालरमावियाले गोल गर्दै थ्री स्टारलाई १–० को अग्रता दिलाउनुभयो । सञ्जोकले खेलको ५७ औं, ६० औं र ७१ औं मिनेटमा लगातार तीन गोल गरेर हयाट्रिक पुरा गर्नुभयो । -रासस


ताजा खबर