सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्डस क्लबले चौथो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा न्युरोड टिमबिरुद्ध फ्रेन्ड्स २–० ले विजयी भएको हो ।
फ्रेन्ड्सका लागि वाग्नर डे कार्मो र सन्जोग महर्जनले एक एक गोल गरे । जितसँगै फ्रेन्ड्स १० खेलबाट १४ अंकसहित नवौँ स्थानमा उक्लिएको छ ।
शीर्ष दुईमा रहेका त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबबीच सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल हुने तय भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम ३ चरणको खेलका लागि मंगलबार खेल तालिका सार्वजनिक गर्दा आर्मी र मछिन्द्रबीचको खेल फागुन ३ गते शनिबारका लागि तय गरिएको हो ।
१० चरणको खेलको समाप्तीमा आर्मी २३ अंकसहित शीर्षस्थानमा छ भने मछिन्द्र २२ अंकसहित दोस्रो स्थानमा छन् । लिगको दसौं चरणको खेल माघ २३ बाट सुरु हुनेछ ।
मछिन्द्रको सामना गर्नुअघि आर्मीले माघ २३ गते नेपाल एपिएफ क्लब माघ २७ गते ब्रिगेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै मछिन्द्रले आर्मीसँग भिड्नुअघि माघ २३ गते सरस्वती युवा क्लब र माघ २७ गते संकटा क्लबको सामना गर्नेछ ।
आर्मी र मछिन्द्रको खेल फागुन ३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस बाहेकका २० खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान र हलचोकस्थित एपिएफको मैदानमा हुनेछ । एन्फाको खेल तालिका अनुसार १४ खेल एन्फा र ६ खेल हलचोकमा हुनेछन् ।
लिगको रोमाञ्चकतालाई अन्तिम सम्म कायम राख्नका लागि एन्फाले मछिन्द्र र आर्मीको खेल अन्तिममा पारेको हो ।
मनाङ मस्र्याङ्दी क्लब १९ अंकसहित तेस्रो स्थानमा, १७ अंकसहित रुस्लान थ्री स्टार क्लब चौथो स्थानमा रहेको छ । ४ अंक जोडेको सरस्वती अंक तालिकाको पुछारमा रहेको छ । -रासस