विश्वकप लिग २ : नेपाललाई घरेलु मैदानमा ‘डेब्यु’को सुनौलो अवसर

घरेलु मैदानमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता आजबाट खेल्दैछ । त्रिकोणात्मक श्रृखंलामा नेपाल, अमेरिका र ओमानले कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउण्डमा एक अर्काको सामना गर्नेछ ।
नेपालले आईसीसी लिग डिभिजन दुईमा भने घरेलु मैदानबाटै प्रतियोगितामा ‘डेब्यु’ गर्ने उत्कृष्ट अवसर पाएको छ । प्रतियोगितामा तीनै टोलीले चार चार म्याच खेल्नेछन् । नेपालले अन्तर्राष्ट्रिय एकदिवसीयको मान्यता पाएपछि ओमान र अमेरिकाको पहिलो पटक सामना गर्दैछ ।

बिगत्को प्रदर्शन
हालसम्म नेपालले छ अन्तर्राष्ट्रिय एकदिवसीय खेलेकोमा तीनमा जित र तीनमा हार बेहोरेको छ । नेपालले अन्तर्राष्ट्रिय एकदिवसीयको मान्यता पाए लगत्तै विदेशी भूमीमा यूनाइटेड अरब इमिरेट्स र नेदरल्याण्ड्सको सामना गरेको थियो । पहिलो एकदिवसीय खेल नेपालले अगष्ट १, २०१८ मा खेलेको थियो । अन्तर्राष्ट्रिय एकदिवसीयमा पहिलोपटक नेदरल्याण्ड्सको सामना गर्दा नेपालले ५५ रनले हार बेहोरेको थियो । आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउँदै मात्र १३४ रनमा समेटिन पुगेको थियो । दोस्रो खेलमा पुनरागमन गर्दै नेपालले एक रनको झिनो अन्तरको जित हात पार्यो । दोस्रो खेलमा २१७ रनको लक्ष्य नेपालले प्रस्तुत गरेकोमा नेदरल्याण्ड्स ५० ओभर खेलेपनि २१५ रनमा समेटियो ।
अगष्टकै अन्तिममा नेपालले आफ्नो तेस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा यूएईसँग ७८ रनको हार बेहोर्नुपर्यो । यूएईले २५५ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपाल १७६ रनमा समेटिन पुग्यो । त्यसपछिको दुबै खेलमा नेपालले जित हात पार्दै पहिलो पटक विदेशी भूमीमा एकदिवसीय ट्रफी उचाल्न सफल भयो । यद्दपी उक्त दुबै प्रतियोगितामा नेपालको ब्याटिङ्ग कमजोरीको रुपमा देखा पर्यो ।

लिगमा प्रदर्शन
आईसीसी लिग डिभिजन दुईमा कुल सात टोली छन् । अमेरिका, स्कटल्याण्ड, नामीबिया, ओमान, यूएई, पपुवान्यूगिनि र नेपालमध्ये स्कटल्याण्ड, नामीबिया र पपुवान्यूगिनी पछिल्ला वर्षहरुमा राम्रो नतिजा निकाल्दै टी ट्वान्टी विश्वकप क्रिकेटको यात्रा तय गरिसकेको छ । नेपाल अतिरिक्तका सबै टोलीले लिगमा आठ आठ खेल खेलिसकेको छ ।
पपुवान्यूगिनी त विश्वकप टी ट्वान्टीको अष्ट्रेलियामा हुने संस्करणको लागि स्थान सुनिश्चित गरिसकेको छ ।
डिभिजन दुईको हालसम्मको आठ खेलमध्ये अमेरिकाले छ मा जित हात पार्दै लिग तालिकाको शिर्ष स्थानमा छन् । उसको १२ अङ्क छ । दोस्रो स्थानको स्कटल्याण्डले आठमध्ये चारमा जित र तीनमा हार बेहोरेर नौ अङ्कसहित दोस्रो तथा नामीबिया चारमा जित र तीनमा हार सहित आठ अङ्कसहित तेस्रो र ओमान चारमा जित तथा दुईमा हारसहित त्यत्तिकै अङ्क ल्याएर चौथो स्थानमा छन् । यूएईले तीनमा जित र तीनमा हार बेहोरेर सात अङ्कसहित पाँचौं स्थानमा छन् । पपुवान्यूगिनि भने आठमध्ये आठैमा हार बेहोरेको छ । उसले हालसम्म अङ्क जोड्न सकेको छैन् ।

नेपाललाई अवसर
घरेलु मैदानमा डिभिजन दुईको सुरुवात गर्न पाउनु नेपालका लागि ठूलो अवसर लिएर आएको छ । अन्तर्राष्ट्रिय एकदिवसीयमा कमजोर कडीको रुपमा रहेको नेपालले प्रतियोगिताको सुरुदेखि नै ब्याटिङ्गमा विशेष रुपले सचेत रही पचास ओभरसम्म क्रिजमा बिताउने रणनीति लिएर मैदानमा उत्रिनुपर्छ । पारस खड्का, ज्ञानेन्द्र मल्ल्, विनोद भण्डारी र शरद भेषवाकरको प्रदर्शनमा नेपाली ब्याटिङ्ग निर्भर रहनेछन् । यद्दपी घरेलु लिगमा राम्रो प्रदर्शन गरेका रोहितकुमार पौडेल, आरिफ शेष, कुशल मल्ल जस्ता युवा प्रतिभालाई घरेलु मैदानमै आफूलाई अनावरण गर्ने महत्वपूर्ण अवसर पाएका छन् । जसलाई सकभर सदुपयोग गर्नुपर्नेछ । आवश्यकता परेको बेला अलराउण्डर करण केसी बलिङ्गसँगै ब्याटिङ्गमा समेत आफूलाई खर्रो देखाएका छन् । छ अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपालका लागि पारस खड्काले एक शतक र एक अद्र्धशतकसहित कुल २३५ रन बनाउनुभएको छ । ज्ञानेन्द्र मल्लले १४३ र दीपेन्द्रसिंह ऐरीले १०८ रन बनाउनुभएको छ ।

नेपालको शक्ति बलिङ्ग
अन्तर्राष्ट्रिय स्पर्धामा नेपालको शक्ति बलिङ्ग आक्रमण हो । तिब्र गतिको बलिङ्गमा करण केसी, अविनाश बोहरा र कमलसिंह ऐरीले जिम्मेवारी सम्हाल्नेछन् । करण र अविनाश अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भएपनि कमलसिंहका लागि यो पहिलो अवसर हो । लेग स्पिनर सन्दीप लामिछाने नेपालको बलिङ्ग आक्रमणको प्रमुख हतियार हुनेछन् । ललितनारायण राजवंशी र सुशन भारी अतिरिक्त बलरका रुपमा रहनेछन् । कप्तान ज्ञानेन्द्र मल्लले टोलीको शक्तिलाई सदुपयोग गर्न कुशल नेतृत्व देखाउनुपर्नेछ ।
ओमानले यसअघि लिग डिभिजनकै खेलमा पपुवान्यूगिनिसँग २३० रनको र स्कटल्याण्डसँग १६९ रनको लक्ष्य सफलतापूर्वक पछ्याइसकेको छ ।

ओमानमा विश्व वरियताका खेलाडी
पछिल्लो समयमा ओमानका खेलाडीको निखारिदो प्रदर्शनले नेपाललाई समस्यामा पार्न सक्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको टी ट्वान्टी विश्व वरियतामा एकसयको सूचीमा अटाएका खेलाडी ओमान क्रिकेट टोलीमा छन् । बिलाल खान २९ औं, खावर अली ४९ औं र मोहम्मद नदीम ५१ औं स्थानमा रहेका बलर नेपाल विरुद्धको खेलमा उत्रिनेछन् ।
अलराउण्डरतर्फ सातौं स्थानमा रहनुभएका जिशन मशूद र दशौं स्थानमा रहेका खावर अली नेपाल विरुद्धको टोलीमा हुनेछन् । विश्व वरियताका खेलाडीको उपस्थितिले ओमानले नेपालमाथि दबाब बनाउने प्रयास गर्नेछन् । यद्दपी घरेलु मैदानमा प्रशंसक र समर्थकको साथले नेपाली टोली उच्च आत्मविश्वास लिएर मैदानमा उत्रिनेछ । २० हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको खेलमा घरेलु समर्थकको साथले नेपाल ओमानमाथि हाबी हुने अपेक्षा गरिएको छ । -रासस


ताजा खबर