शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । आज थ्रीस्टार क्लब संकटा क्लबविरुद्ध खेल्दैछ । अर्को खेलमा विभागीय टिम नेपाल पुलिस क्लब ब्रिगेड ब्वाइज क्लबसँग प्रतिष्पर्धा गर्दैछ ।
सातदोबाटोमा हुने थ्रीस्टार र संकटाबीचको खेल विहान साँढे एघार बजे सुरु हुनेछ ।
उपाधि होडबाट बाहिरिसकेको थ्रीस्टारको अबको लक्ष्य भनेको शीर्ष ६ मा रहनु हो । हाल १७ अंकसहित चौथो स्थानमा रहेको थ्रीस्टार तेस्रो स्थानसम्म पुग्न सक्नेछ । आजको खेलमा जित हात पारेको खण्डमा थ्रीस्टार तेस्रो स्थानमा उक्लिनेछ ।
गत वर्षको उपविजेता संकटा भने सातौं स्थानमा छ । संकटालाई शीर्ष ६ मा रहनका लागि थ्रीस्टारविरुद्धको जित आवस्यक छ । उसले यसअघिको संस्करणमा थ्रीस्टारलाई २–० ले हराएको थियो ।
आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब खेल्दैछन् । नेपाल पुलिस क्लब १४ अंक सहित आठौं स्थानमा छ । ब्रिगेड ब्वाइजलाई हराएमा पुलिसको सुपर सिक्स भित्र रहेर लिग सकाउने सम्भावना बढ्नेछ ।
ब्रिगेड ब्वाइजको रेलिगेसनको खतरा अझै टरेको छैन । अहिले ब्रिगेड आठ अंकसहित एघारौं स्थानमा छ । पुलिससँग अंक खोस्न नसकेमा ब्रिगेड ब्वाइजको रेलिगेशनको सम्भावना बढ्नेछ । अहिले रेलिगेसन जोनमा एपीएफ र सरस्वती भएपनि ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबलाई पनि रेलिगेसनको दबाब छ । – रेडियो नेपाल