पिनासलाई डाक्टरी भाषामा साइनोसाइटिस भनिन्छ । साइनोसाइटिस भनेको नाक वरिपरिका पिनास ग्रन्थीहरू (साइनास) को इन्फ्लामेसन अथवा (सुनिएर रातोतातो भई दुख्नु र काम गर्न छाड्नु) हो । यी साइनस ग्रन्थीहरू नाकको वरिपरिका हड्डीहरूमा पाइने हावा भरिएका खोक्रा संरचनाहरूहुन् । साइनसले टाउकोलाई हलुका बनाउन, स्वरलाई स्पष्ट बनाउन, श्वासक्रियामा सहजतापूर्वक श्वास लिन, अनुहारमा चोटपटक लाग्दा धेरै क्षति हुनबाट बचाउन सहयोग गर्ने जस्ता कार्य गर्दछन । यी साइनसहरूमा प्राकृतिक रुपमा हावा भरिएको हुन्छ, तर यदि हावा भरिएको हड्डीको खोक्रो भाग सुन्निएर रातोतातो भई यसभित्र कफ जम्ने स्थितिलाई पिनास (साइनोसाइटिस) भनिन्छ ।
प्रकार: पिनास तीव्र पिनास, मध्यम पिनास र जीर्ण पिनास र आवर्तक तीव्र पिनास गरी चार प्रकारका हुन्छन् ।
१. तीव्र पिनासः पिनास ग्रन्थीहरूएकाएक सुन्निएर प्रदाहात्मक हुने र चार हप्ताभित्र आफैं ठीक हुने पिनासलाई तीव्र पिनास भनिन्छ ।
२. मध्यम पिनासः चार हप्ताभन्दा ज्यादा तर १२ हप्तासम्म लम्बिने पिनासलाई मध्यम पिनास भनिन्छ।
३. जीर्ण पिनासः १२ हप्ताभन्दा लामो समयसम्म रहने पिनासलाई जीर्ण पिनास भनिन्छ ।
४. आवर्तक तीव्र पिनासः लामो एक वर्षमा चार वा धेरै पटक दोहोरिने तीव्र पिनासलाई आवर्तक तीव्र पिनास भनेर भनिन्छ ।
कारणहरूः
१. एलर्जी ।
२. नाकमा मासु पलाउनु ।
३.नाकको हड्डी बाङ्गिनु ।
४. नाक, कान, घाँटी र दाँतको सङ्क्रमण ।
५. .माथिल्लो श्वासमार्गको सङ्क्रमण ।
६. भाइरसहरूको सङ्क्रमणः राइनो भाइरस, कोरोना भाइरस, इन्फ्लुएन्जा भाइरस, एडिनो भाइरस, प्यारा इन्फ्लुएन्जा भाइरस इन्टेरो भाइरस आदि ।
७. ब्याक्टेरियाः स्ट्रेप्टो कोकस निमोनी, हिमोफिलस इन्फ्लुएन्जा, मोराक्सेला क्याटार ह्यालिस स्टाफाइलो कोकस अरिएस ।
८. ढुसीको सङ्क्रमणः कमजोर प्रतिरक्षा प्रणाली, जस्तै ः मधुमेहका रोगी, एड्स आदिका बिरामीमा ढुसीको कारणले हुने पिनास ज्यादा देखिन्छ ।
९. रसायनहरूको गन्धः तिक्ष्ण रासायनहरूको गंधले पिनास ग्रन्थीको शोथ गराउदछ ।
लक्षणहरू
१) रुघा लाग्नु ।
२) टाउको भारी भएर दुख्नु ।
३) पिनासको गन्थ्रीको क्षेत्रमा दबाव दिँदा दुख्नु ।
४) स्वर परिवर्तित हुनु ।
५) नाकको वरिपरी वा आँखाको ठिक माथि पीडा हुनु ।
६) दाँत दुख्नु ।
७) गन्धग्रहण शक्ति कमजोर हुने ।
८) स्वाद ग्रहण शक्ति कमजोर हुने ।
९) ज्वरो आउने ।
१०) बेचैनी बढ्नु ।
११) नाक बुझिनु ।
१२) नाकबाट सिंगान बग्नु ।
१३) घाँटी खसखसाउनु ।
१४) थकान ।
१५) श्वास गन्हाउने ।
१७) हाच्छुयु आउने ।
१८) अनुहार सुन्निने ।
निदान विधि
१) रोगको इतिहासः पिनास हुँदा टाउको दुख्ने र रुघा लाग्ने लक्षणहरूबाट सुरु हुन्छ । अन्य प्रकारको रुघा लाग्दा सामान्यतया ७ दिनको पुरै समय लिएर ठिक हुन्छ तर पिनास हुँदा रुघा एक दुइदिन पछि नै रोकिन्छ र पिनासको रुप धारण गर्छ । पिनास हुँदा देखिने लक्षणहरू प्रयजसो रुघाखोकी फ्लू दम, श्वास प्रश्वास प्रणालीको जिर्ण रोगहरू, माइग्रेन, राइनाइटीस, आदिमा पनि देखा पर्ने हुँदा पिनासलाई अन्य रोगहरूबाट ठिकसँग छुट्याउन आवश्यक छ । पिनास हुँदा विशेषतः अन्य लक्षणहरूका साथसाथै पिनास ग्रन्थी वरिपरि दबाउँदा असाध्यै पिडा हुन्छ ।
२) एक्स–रेः एक्स–रे गरेर पिनास ग्रन्थीमा कफ जमे नजमेको पत्ता लगाउन सकिन्छ ।
३) सिटी स्क्यानः सिटी स्क्यान गर्दा अझ कहाँ कहाँ र कति कफ जमेको छ भनेर पत्ता लगाउन सकिन्छ ।
४) एमआरआईः यो सिटी स्क्यान र एक्स–रे भन्दा पनि उत्तम खालको निधान पद्दति हो ।
रोकथाम र बच्ने उपाय
पिनासको सबैभन्दा आम कारण भनेको एलर्जी हो । पिनासबाट जोगिन एलर्जीबाट बच्नुपर्ने हुन्छ । एलर्जीका कारणहरूअनेक हुन सक्छन् ।
मुख्य कारणहरु:
१) माकुराको जालो, फूलको पोलन, चिसो , ढुसी, धुवा धुलो घोडाको लिदि पशुको भुत्ला, पंक्षीको प्वाँख आदि एलरजेनहरूसँग बच्नुपर्छ ।
२) ढुसी, झ्याउ, लेउ लाग्न सक्ने फर्निचर एवम् सामानहरूलाई नियमित सरसफाई गरिरहुनपर्छ ।
जस्तै ? गद्दा, सोफा, कार्पेट, गलैचा, डोरम्याट, पर्दा रुमाल आदि ,
३) परफ्युम अत्तर आदिको बासनाले पनि धेरैलाई उलर्जी हुनसक्छ ।
४) दुषित वायुमा जस्तै धुवा धुलो धुम्रपान, आद्र वायुबाट बचौँ ।
५) घरमा हावा गुम्सिन नदिऔँ । भरको भेन्टिलेसन प्रणालीलाई चुस्त राखौँ ।
६) जाडोको मौसममा कम तापमान, र आद्र हावामा पिनास ग्रन्थीहरूको संक्रमण हुनसक्छ । तसर्थ जाडोबाट बचौँ । यसैगरी अति उष्ण तापक्रममा पनि श्वास लिँदा पिनास हुन सक्छ ।
७) तनाव, अनिद्रा, डर, चिन्ता, उदासिनता र नैराश्यता आदिबाट पनि बच्ने गरौँ । यी मनोविकार भएको अवस्थामा शरीरको प्रतिरक्षा प्रणादी कमजोर हुनगइ पिनास हुनसक्छ ।
८) रुघाखोकी लागेका व्यक्तिहरूबाट पनि बच्ने गरौँ ।
९) तलाउ, पोखरी खोला वा स्वीमिङपुलमा डुबेर नुहाउँदा नाकमा पानी पसि पिनास ग्रन्थीको संक्रमण हुनसक्छ ।
१०) मौसमी संक्रमणबाट बचौँ । ब्याक्टेरिया भाइरस, फङ्गस आदिको संक्रमणले पिनास हुन सक्छ ।
११) नाक, कान घाट र दातको संक्रमणले भएकाहरूले यी संक्रमणलाई बेलैमा नियन्त्रण गरौँ । कहिलेकाहि यी संक्रमण पिनास ग्रन्थीमा सरेर पिनास हुनसक्छ ।
१२) जाडोमा निधारसम्म ढाकिने टोपी वा मङ्की क्याप लगाउने गरौँ ।
१४) दैनिक ३–४ लिटर पानी पिउने गरौँ ।
१५) नाकमा मासु पलाएएको, नाकको हड्डी टेडो भएको जस्ता समस्याको बेलैमा उपचार गरौँ ।
१६) नाकको सफाईमा विशेष ध्यान दिऔँ ।
उपचार
पिनासको उपचार गर्नुभन्दा पहिलो हामीले पिनास हुनको कारण पत्ता लगाउनुपर्ने हुन्छ । यसका साथसार्थ पिनासको प्रकार पिनास बढाउने र घटाउने तत्वहरूपनि थाहा पाउनुपर्ने हुन्छ । कारणको इकिन निक्र्यौल गरी उपचार गर्दा उपचार चाडो लाग्दछ र समस्यालाई जरैदेखि उखेल्न सकिन्छ ।
प्राकृतिक उपचार
१) जलनेती गर्नेः प्रचिनकालदेखिनै ऋषिमुनीहरूले नाकको सफाई गर्नको लागि उपयोग गरेको यौगिक विधिलाई जलनेती भनिन्छ । नेतीको भाडामा उमालेर मनतातो बनाइएको नुनपानीलाई एउटा नाकको प्वालबाट अर्को प्वालबाट निकाल्ने पद्दतिले पिनास नियन्त्रण गर्छ ।
२) सूत्रनेतिः रबरको नली वा मैनले भिजाएको चिल्लो डोरीलाई एउटा नाकको प्वालबाट पसाएर मुखबाट निकालेर घारघुर गरि पुरै श्वासमार्गलाई नै सफाई गर्ने क्रियालाई सूत्रनेती भनिन्छ । सूत्रनेति गरिसकेपछि पुनः जलनेति गर्नु पर्छ ।
३) अनुहारको वाफ लिनेः उम्लिाएको पानीमा नाक खुलाउने दबाई हाली वा नहालीकन पानीको वाफमा अनुहार एक्सपोज गरी कपडाले पुरै टाउको र वाफको भाडोसहित ढाकेर नाकबाट वाफ लिनेगर्दा तातो वाफले पिनास ग्रन्थीमा भएको फोहर निकाली प्रदाह कमा गर्न मद्दत गर्दछ । नोटः वाफ लिँदा आँखा बचाएर लिने गरौँ ।
४) कुन्जल क्रियाः उमालेर मनतातो बनाएको पानीमा नुन हाली ८–१० गिलास पानी पिएर वमन गर्ने विधिलाई कुञ्जल क्रिया भनिन्छ । कुञ्जल गर्दा आमाशय सफा हुन्छ नै । साथसाथै यसले नाक र पिनास ग्रन्थीमा जम्मा भएर रहेको फोहरलाई पनि बाहिर निस्कन मद्दत गर्दछ ।
५) टाउकाको मालिसः तातो तेल ठोकेर टाउकाको मालिस गर्दा तातो एवं मर्दन विधिले पिनास कम गर्न मद्दत पुर्याउँदछ ।
६) मसलाहरूको सेवनः तिक्ष्ण स्वाद भएका मसलाहरूजस्तै तोरी, ल्वाङ, प्याज, लसुन, मरिच, कडीपत्ता, बेसार, आदि हालिएको सब्जी खादा पिनास घटाउन मद्दत गर्दछ । विशेषतः यी तिक्ष्ण स्वादका वस्तुले कफ काट्नेछ ।
७) अकुप्रेसरः अनुहारका पिनास ग्रन्थीमाथि वा वरपरका अकुप्रेसर विन्दुहरूमाथि वा हत्ेकला वा पैतालाका विन्दुह दवाउँदा पिनासबाट छुटकारा पाउन सकिन्छ ।
८) भुइकटहरको गुवो वा अंगुरको बिचको प्रयोगः भुकटहरको गुवोमा ब्रोमेलिन नामको प्रोटिन पाईन्छ । यो प्रोटिनको उपयोग सुनिएको घाउ सुकाउन प्रयोग गरिन्छ । ब्रोमालिनको सेवनले पिनास तथा ध्राणमार्गको सुजन कम गर्न सहयोग गर्दछ ।
९) गाईको घिउः सुत्नुभन्दा पहिले २–३ थोपासम्म मनतातो गाईको घिउ नाकमा हाल्नाले पिनास कम गर्न मद्दत गर्दछ ।
१०) प्रशस्त पानी पिउनस्ः पिनास भएकाहरूले प्रशस्त पानी पिउने गर्नुपर्छ । पानीको निहुमा कोल्डड्रिङ्क्स, पेप्सी, जुस, चिनी हालिएका पेप सुप आदि पिउनुहुँदैन । रक्सी र चुरोटको सेवन पनि पिनासका लागि हानिकारक छ । पेय पदार्थको सेवन गर्दा कफ काट्ने पदार्थको छनौट गर्नुपर्छ ।
११) चिकित्सकको परामर्शः नाकभित्र मासु पलाएको, सुन्निएको हड्डी बाङ्गिएको वा नासिका मार्ग थुनिएको भए चिकित्सकको यथाविधि परामर्श लिने गरौँ ।
योग चिकित्साः
आसनहरूः शलभासन, मंडूकासन महावीरासन, वीरासन, पृष्ठचालनासन, कर्णपिडासन, शिर्षासन।
प्राणायामः अनुलोम—विलोम, कपालभाती, भस्त्रिका, महाभेद ।
ध्यान वा पूर्ण विश्रामको लागि सिथिलिकरण वा शवासन को अभ्यास ।
खानपान व्यवस्थापन
पिनास मुख्यतः एलर्जी, तनाव, कमजोर प्रतिरक्षा प्रणाली र संक्रमण संग सम्बनिधत रोग हो । पिनासको लागि खानपान व्यवस्थापन गर्दा मुख्यतः यिनै कारणहरूलाई आधार मानेर गर्नुपर्ने हुनेछ ।
के के खाने ?
१) मसलाहरूको सेवन : पिनास भएकाहरूले तिक्ष्ण स्वाद र उष्ण गुण भएका मसलाहरूको सेवन गर्दा वेश हुन्छ । जस्तै ः लसुन, प्इाज, तोरी, ल्वाङ, मरिच, कडीपत्ता वेसार, ज्वानो, सौफ, अदुवा, हिङ ।
२) अमला र भुईकटहरको सेवनले पनि पिनास नियन्त्रणमा राम्रो भूमिका गर्दछ ।
३) खजुर, किसमिस, स्याउ, र गैरअम्लिय ताजा फलफूल खाने गरौँ ।
४) तर पिनासको कारणले नाथ्री फुट्ने र रगत बग्ने अवस्था छ भने यी मसलाहरूको पहरेज गर्नुपर्छ ।
५) तातो पानीको सेवन, प्रशस्त झोल पदार्थएको सेवन
६) तातो पानी र बेसार
के के नखाने ?
तारे—भुटेको, संरक्षित खाद्यान्न, कोल्ड ड्रिङ्क, स्टार्चयुक्त खाना, सेतो चीनी, मैदा, भात, समोसा, कचौरी, पकौडी, केक, पिज्जा, बर्गर, तिक्ष्ण मसाल, माछा, मासु अण्डा चिज, पनीर, बटर, दुध एवं दुग्धजन्य पदार्थ ।
(लेखक डा.कोइराला ख्यातिप्राप्त योग तथा प्रकृतिक चिकित्सक हुन् ।)