कोरोनाभाइरसका कारण एकैदिन ९७ जनाको मृत्यु : नयाँ सङ्क्रमणको सङ्ख्या स्थिर

चीनमा कोरोनाभाइरसका कारण आइतवार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ९७ जनाको मृत्यु भएको छ।

चीनमा अहिलेसम्म ९०८ जनाको मृत्यु भएको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या ९१० पुगेको छ। चीनबाहिर दुई जनाको मृत्यु भएको छ।

तर चीनमा नयाँ सङ्क्रमण हुने व्यक्तिहरूको सङ्ख्या स्थिर भएको देखिएको छ।

चीनका विभिन्न स्थानमा सङ्क्रमित व्यक्तिको सङ्ख्या ४०,००० नाघेको छ भने एक लाख ८७ हजारभन्दा बढी मानिसलाई चिकित्सकीय निगरानीमा राखिएको छ।

गत डिसेम्बर महिनादेखि फैलिएको नयाँ भाइरसको प्रकोपबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्गठनले विशेषज्ञहरूको टोली बेइजिङ पठाएको छ।

चीनको सरकारी तथ्याङ्कका अनुसार ३,२८१ जनालाई सफल उपचारपछि अस्पतालबाट घर फर्काइएको छ।

सोमवार लाखौँ मानिसहरू लामो बिदापछि काममा फर्किएका छन्।

भाइरसको प्रकोप फैलिएपछि नियन्त्रणको उपायस्वरूप चिनियाँ नयाँ वर्षको बिदा ज्यानुअरी ३१ पछि पनि लम्ब्याइएको थियो।

तर सावधानीका उपायहरू यथावत् छन्। काम गर्ने समयका बीचमा विश्रामको व्यवस्था गरिएको छ तथा छानिएका कार्यस्थल मात्र खुलेका छन्।

गत सप्ताहान्तमा कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्याले सन् २००३ मा फैलिएको सार्स महामारीले ज्यान लिएका मानिसको सङ्ख्यालाई उछिनेको थियो

सार्स पनि चीनबाट फैलिएको थियो। उक्त रोगका कारण विश्वभरि ७७४ जनाको मृत्यु भएको थियो।

विश्व स्वास्थ्य सङ्गठनले शनिवार कोरोनाभाइरसको नयाँ सङ्क्रमणको सङ्ख्या “स्थिर” भएको जनाएको छ।

चीन

तर उक्त भाइरस प्रकोप उत्कर्षमा पुगिसकेको हो कि हैन भन्ने निष्कर्ष निकाल्न हतार गर्न नहुने उसको भनाइ छ।

उक्त भाइरस पहिलो चोटि हुबे प्रान्तको वुहान सहरमा फेला परेको थियो। त्यसयता एक करोड १० लाखभन्दा बढी मानिस बसोबास बस्ने उक्त सहर हप्तौँदेखि बन्दजस्तै छ।

विश्व स्वास्थ्य सङ्गठनले उक्त भाइरसका कारण जनस्वास्थ्यमा सङ्कट उत्पन्न भएको घोषणा गरिसकेको छ।

उक्त भाइरसबाट सङ्क्रमित मानिस नेपालसहित २७ देशमा भेटिएको पुष्टि भएको छ। तर अहिलेसम्म फिलिपिन्स र हङ्‍कङमा एक-एक गरेर दुई जनाको मात्र मृत्यु भएको छ।

कोरोनाभाइरस

यसैबीच भाइरस परीक्षण गरिएपछि हङ्‌कङमा रोकेर राखिएको एउटा पानीजहाजका सयौँ यात्रीहरूलाई बाहिर निस्किन दिइएको छ।

अर्को पानीजहाजका आठ यात्रुलाई कोरोनाभाइरस भएको पुष्टि भएपछि वर्ल्ड ड्रीम नामक उक्त क्रूजलाई अलग्गै राखिएको थियो।

जापानमा पनि एउटा पानीजहाजमा सवार दर्जनौँ मानिसमा कोरोनाभाइरस भेटिएपछि त्यसलाई क्वारन्टीनमा राखिएको छ।

भाइरस फैलिने आशङ्कामा दक्षिण कोरियाले क्रूजहरूलाई आफ्ना बन्दरगाहमा छिर्न अस्थायी प्रतिबन्ध लगाएको छ। –बीबीसी

 


ताजा खबर