आँटो ढिँडो परम्परागत खानपान : स्वास्थ्यका लागि वरदान

पहिलेका गरिब, विपन्न र दुःखीले खाने कोदाको ढिँडो, धनीमानी र सुखीका लागि सोखको खाना भएको छ अहिले । ‘गहतको झोलमा जात फाल्ने ?’ भनेर हेलाँ गरिने पहाडका बारी र कान्लाका झालमा फल्ने त्यो अपहेलित दाल पत्थरी र जाडोको औषधि बनेको छ अचेल । मकैको आँटो (च्याँख्ला) खान्न भन्नेलाई मधुमेहले सताएपछि नखाई सुख पाएका छैनन् । सिस्नोलाई हेलाँ गर्नेले सुकाएर राखेको धूलो किनेर खान्छन् अचेल । ज्वानाका झोलले सुत्केरी उम्काउँछन्, कुरिलो ख्वाएर दूध बढाउँछन् । आलस खाएर ठीक पार्छन् कब्जियत, ग्यास्टिक, बात, बाथ र घटाउँछन् कोलस्ट्रोल पनि । गुर्जो (गिलोय चिनीलहरो) ले ज्वरो निको पार्छन् । करेला र घृतकुमारीले उच्च रक्तचाप घटाउँछन् । बेसारले धेरै रोग निको पार्छन् । यस्ता उदाहरण जति पनि दिन सकिन्छन् ।

परम्परागत खानपान निरोगिताका लागि वरदान थिए र छन् । होटलमा पसेर बोतल रित्याउने, रेष्टुरेन्टमा घुसेर अन्टसन्ट खाएर घमण्ड गर्दै, उद्दण्ड बन्दै परम्परागत खानालाई हेलाँ गर्नेहरू रोगका फेलापरेका छन् । त्यसैले गुन्दु्रक (सिन्की), सुकाएको साग, मुलाका चाना र मस्यौराको माग बढ्दो छ बजारतिर । भुर्लुक्क झोल उमालेर खुर्लुक्क खान र कार्यालयका काममा समयमै जान । मही, दही र दूध बेचेर कोक, फेन्टा पिउनेहरूले बुझ्दै छन् बल्ल गोरसको महŒव । आकर्षक थैलीमा भरेर, पानी कागजमा पोका पारेर, विज्ञापन गरेर बजारबाट गाउँका कुनाकन्दरामा पु¥याइएका सुख्खा र बासी बिस्कुट, चाउचाउ आदि खानाहरूले रोग पनि सँगै बोकेर गए, कमजोर बनाए, स्वास्थ्य पनि बिग्य्रो धेरैको । आधुनिक बन्ने र बनाउने, सभ्य कहलाउने, छिटो र मीठो पनि हुने, सजिलो मान्ने गर्दा बोझिलो भयो जिन्दगी । युवा उमेरमै मधुमेह, उच्च रक्तचाप, मुटु र मिर्गौलाका रोगी बढे । परम्परागत खाना खाने र शारीरिक श्रम गर्नेहरूलाई लाग्दैनन्, त्यस्ता रोग केही अपवादलाई छाडेर ।

सुस्वादु, सुस्वास्थ्य र दीर्घायुका आधार थिए हाम्रा परम्परागत खाना । ‘घृतम्, क्षारं, फलम्, तोयम्, मधुरम् पयमेवच’ भनिन्थ्यो त्यसैले । असन्तुलित खानपानको प्रचलन थिएन । उद्योग, बजार र व्यापारिक प्रयोजनका लागि भन्दा पारिवारिक पालन पोषण, सुस्वास्थ्य र दीर्घायुका लागि गरिने उत्पादन, भण्डारण, कुटान र पिसान, पकवान र खानपानका कारण पनि त्यस्तो हुन गएको थियो । विज्ञापनको जमाना थिएन । आवश्यक परेमा बाहेक अरूमा मिसावट हुने गरिने चलन पनि थिएन । ढिकी, जाँतो र कोलमा कुटानी, पिसानी र पेलानी हुन्थ्यो, यन्त्रको आविष्कार भइसकेको थिएन । खेतिपाती र पशुपालनका लागि आवश्यक पर्ने औजारहरू आरनमै बन्थे र बन्थे पकाउने र खाने भाँडाकुँडा पनि । वर्णशङ्कर बीउविजन र कीटनाशक औषधिको प्रयोग हुँदैनथ्यो । ऐँचोपैँचो अर्मपर्म चल्थ्यो आपसमा वल्तिर पल्तिर । जे–जति फल्थ्यो मिलिजुली बस्ने बाँडिचुँडी खाने गरिन्थ्यो । आन्तरिक उत्पादनले धान्थ्यो । कोही भोको रहँदैनथ्यो । खान नपाएर मर्न पर्दैनथ्यो कोही र धेरै खाएर, अपच भएर पनि मर्दैनथ्यो अपवादलाई छाडेर । त्यस्तो छैन अहिले । छिटो र मीठो खोज्दा ज्यान जोखिममा पर्न, पार्न थालिएको छ ।

जिब्रालाई टाँठो पार्ने, बनाउने र लाग्नेखालको चाहिने । अमिलो र पीरो खाएर ट्वाक्क जिब्रो फड्कार्ने । गरिष्ट, रुक्ष, चटपटे र मसालेदार परिकार खाएर ज्यान बिगार्ने । स्वादिष्टका नाममा स्वास्थ्य खराब पार्नेहरूले बेलैमा बुझेनन् भने धेरै आपत् बेहोर्नपर्छ, परेकै छ । रेडियो, टेलिभिजन र पत्रपत्रिकामा दिइने विज्ञापन हेरेर, पढेर र सुनेर परम्परागत खानालाई हेलाँ गर्नेहरू नयाँ रोगका सिकार बन्न बाध्य छन् । खोलभित्रका तयारी खानालाई पत्रु खाना भन्छिन्, मान्छिन् प्रख्यात पोषणविद् डा. अरूणा उप्रेतीले । चाउचाउ, कुरमुरे, चिप्स, केक र कोक आदि बजारका खानाले बालबालिकाको मन, मस्तिस्क र स्वास्थ्य बिगार्ने उप्रेतीका कुरा उद्योगपति र व्यापारीबाहेक अरू सबैले मन पार्नैपर्नेखालका छन् । जसले पत्याउँदैनन् र मजाक उडाउँदै खान्छन्, उनीहरू छिट्टै अस्पताल जान्छन् र औषधिको सहारा लिन बाध्य हुन्छन् । आधुनिक आहारा खाएर औषधिको सहारा लिने बानी परिसकेको छ धेरैको । अधिकांशका खल्ती र झोलामा हाजमोला, पुदिनहरा र डाइजिनका चक्की भेटिने कारण पनि त्यही हो ।

स्वाद, सन्तुष्टि र स्वास्थ्यका लागि साह्रै उपयुक्त हुन्, हाम्रा परम्परागत खाना । यतैका मरमसलामा सबैथोक छ । मरौटी, टिमुर, खुर्सानी, जिम्मु, लहसुन, प्याज, धनिया, तेजपत्ता (दालचिनी), करिपत्ता (बकाइनी÷बूढी बकाइनी), मेथी, तोरी, ज्वानो, सोफ, अदुवा, बेसार, अमला, आलस, भकिम्लो र पुदिनाजस्ता मसलाले जस्तै खाद्यान्नलाई पनि स्वादिलो बनाउन सक्छन् । रैथाने बीउका बाली लगाएर उत्पादन गरेका खाद्यान्नमा यतै फलाइको र पेलाइएको तोरीको तेल र गाई–भैँसीको घिउको भुटुन हालेर पँधेराका पानीमा थाकखोलातिरको भोटे नुन् र खुर्सानीमात्रै हालेर पकाउने हो भने पनि साह्रै स्वादिलो (चोपिलो) र तिख्खर हुन्छ । लसुन, जिम्मु, टिमुर, अदुवा र मरौटीले बाहिरबाट झिकाउनपर्ने जिरा, मरिचलाई माथ गर्छ । यस कुरालाई त महापण्डित राहुल साँकृत्यायनले पनि वर्णन गरेका छन्, आफ्नो यात्रा वृत्तान्तमा । सबै खाद्यान्न, दाल, तरकारी र मसलामा औषधीय गुण छ । ‘नास्तिमूलमनौषधम् (औषधिविनाको वनस्पति हुँदैन)’ त्यसै भनिएको होइन । रैथाने दाल तरकारीहरू आफैँ उस्तै स्वादिला हुन्छन् । चामलको भातमात्रै नखाएर पालो मिलाएर मकै, कोदो, गहुँ, जौ, फापर खाने गर्दा सबैथोक मिल्छ । बोडी, सिमी, सिल्टुङ (झिलिङ्गा÷मस्याम) गहत, मास, भटमास, केराउ, मसुरो, अडहर आदिको दाल पालैपालो खाँदा पनि शरीरलाई चाहिने सबै तŒव पाइन्छ । आलु, पिडालु, तरुल, गिठा, काउली, साग, सिस्नो, निउरो, खोलेसाग, भान्टा, सिमी, गावा, तामा, घिँरौला, पर्सी, करेला, गोलभेडा, चिचिन्डो, इस्कुस, मुला, रायो, तोरी, कुरिलो आदिको तरकारी सबै परम्परागत खानाभित्रै पर्छन् । तिनैलाई पकाएर खाँदा पुग्छ शरीरलाई चाहिने सबैथोक । यता पाइने, सबै मौसममा फल्ने, जङ्गली र घरेलु फलफूलबाट पनि भिटामिन, प्रोटिन, कार्बोहाइड्रेट, खनिज आदि तत्वको अभाव हुन्न । बाहिरबाट झिकाइएका विषाक्त खाना खाएर स्वस्थ बन्न सकिन्न । अस्वस्थ खानपानले आक्रान्त भएको हो सिङ्गै देश ।

चामल, नुन, चिनी, मैदा, अजिनोमोटो, डाल्डाघिउजस्ता ६ वटा सेता पदार्थ (द्रव्य) लाई विष मान्ने गरिएको छ अचेल । ढिकीमा कुटेको (मिलमै कुटेको भए पनि पालिस नगरेको) चामल स्वास्थ्यवद्र्धक मानिन्छ । चिनीको बदलामा गुण÷भेली खान सकिन्छ । सिधेनुन, बीरेनुन र भोटे नुन खाँदा उत्तम । मैदाका बदलामा गहुँ, चामल, मकै, चना र कोदाको पीठो प्रयोगमा ल्याउँदा हुन्छ । अजिनो मोटो र डाल्डा घिउ नखाएर यतै उत्पादन भएको तोरी, सूर्यमुखी, आलसको तेल र गाई–भैँसीको घिउ प्रयोग गर्ने हो भने डराउन पर्दैन । जति बढी बजारिया खानातिर मन र मुख पल्क्यो उति बढी शरीरभरि रोगव्याधी सल्क्यो । लोभी मन र नयाँ स्वाद खोज्ने जिब्रोले बिगारेको हो निरोगी तन (शरीर) र दुःख पाएको ज्यानले । तीन इन्चीको जिब्रोले स्वाद लिएर साढे तीन हातको ज्यानले जोखिम भोग्न परेको हो ।

ब्राह्मणले शाकाहारी खाना खाने, अहिंश्रक बन्ने र वेद पढ्ने चलन थियो । शाकाहारी भोजनलाई सन्तहरूको आहार मानिन्छ, भनिन्छ त्यसैले अद्यपि । पालेको र जङ्गलमा सिकार खेलेर जुटाएको मांस र आफैँले बनाएको मदिराको मात्रा बढाउँथे अरूहरूले । जस्तो भूगोल, वातावरण र रहन–सहनमा बस्थे त्यस्तै थियो खान पान पनि । थारू, नेवार, मगर, गुरुङ, राई, लिम्बू आदि जाति जनजातिका खाना आँतिला, पोषिला र जोशिला थिए । हँसिला, गठिला र रसिला देखिन्थे, देखिन्छन् अद्यपि । मांस र मदिराजस्ता गरिष्ट भोजन भक्षण गर्नेहरू बलवान र शाकाहारीहरू कुद्धिमान मानिन्थे । परम्परागत भोजनालयलाई औषधालयजस्तो बनाइएको हुनाले कुन समयमा कस्तो खाना कसरी खाने, कति खाने, पानी कति पिउने र कसरी जिउने भन्ने नियम थियो सबैको ।

‘अजिर्णे भेषज्यम् वारी जिर्णे वारी बलप्रदम्,
भोजने च अमृतं वारी भोजनान्ते विष प्रदम्

(अजीर्ण भएकाबेला पानी औषधि हो, जीर्ण अर्थात् खाना पचिसकेपछिको पानी बलदायक हुन्छ । खाना खाँदा थोरै–थोरै पानी पिउनु अमृतजस्तै र खानापछिको पानी विष समान हुन्छ ।)

अन्न व्यंजनयो भार्गो तृतीयमदकस्य च,
वायु संचरणार्थाय चतुर्थमुपकल्पयतः

(अन्न, तरकारी र फलफूलले पेटको दुई भाग, तेस्रो भाग पानीले र चौथो भाग हावा खेल्नका लागि खाली राख्नुपर्छ)’ जस्ता नियम पालन गर्नेहरू निरोगी थिए । जति–जति जसले नियम छाड्दै गए रोगी भए उति । आफ्नो ज्यान, ध्यान र ज्ञानतिरभन्दा धनतिर मन लगाउनाको हो यो परिणति ।


ताजा खबर