-मनु मन्जिल
दसैंबाट दसैँ हराएको खबर
छ-छैन अखबारमा?
शरद भुइँमा ओर्लेको छ
स्कुल मावल गैसकेको छ।
केही आएन भन्न असजिलो छ।
तथापि
दसैँ नआएको कुरा कतै
छ-छैन सहरमा?
उन्नाइस तोपको सलामीले भर्खरै
टुँडिखेलको मौन घोडा
उन्नाइसपटक तर्सेको ठीक साँचो हो।
क्यालेन्डरको दसैँ छुट्टीमा
यता कार्यालयबाट
उता जिन्दगीको ब्यस्त चोकबाट
समय घर भागिसकेको पनि ठीक साँचो हो।
तरै दसैँ आएकै खबर नै त
ती पनि होइनन्।
रेडियोको मालश्री,
अखबारको सेलेबृटी गफ,
सरकारी गजेटको आधिकारिक सूचना..
बस यिनै माझ कतै हराएको छ
– दसैँ।
हलक्क हुर्किएको जमरा,
आकासलाई माथि हुत्याउँदै मच्चिरहेको पिङ,
सुनसान गाउँको बाटामा अचानक
घर फर्किरहेका मानिसहरूका ताँती,
हृदयजस्तो एकान्त आँगनको मखमली फूल, र बजारको
सपिङ सेन्टरको भीड पछिल्तिरबाट
निस्किसकेको छ दसैँ।
सूचनामा दसैँ आएको कुरा चाहिँ
ठीक साँचो हो।
राष्ट्राध्यक्षको औपचारिक भाषणमा
दसैँ आएको कुरा पनि ठीक साँचो हो।
रङ्गीन न्युज-म्यागेजिनका मोटा विशेषाङ्कहरूभित्र
दसैँ लुकीआएको कुरा पनि ठीक साँचो हो।
तर दसैँ आएकै कुरा चाहिँ सही होइन।
साँचो कुरा
युद्धमा मारिएका मानिसका
टुहुरा छोराछोरीलाई थाहा छ।
टाढा मरूभूमिको क्षितिजमा हराएका छोरा कुरी बस्ने
जम्मै आमाहरूलाई थाहा छ।
साँचो कुरा
गरिबका चिसा मझेरीहरूलाई थाहा छ।
विधवाका ऐनाहरूलाई थाहा छ।
(“ल्याम्प-पोस्टबाट खसेको जून” बाट)