कालीप्रसादको जीवनकथा ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक

कवि तथा गीतकार कालीप्रसाद रिजालको सस्मरणात्मक जीवनकथा ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक भएको छ। नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ को सांगीतिक माहोलमा शनिबार साँझ रिजालको नयाँ पुस्तक विमोचन भएको हो।

नेपाली सांगीतिक र साहित्यिक जगतमा अलग्गै उचाइ हासिल गरेका कालीप्रसाद लामो समय सरकारी सेवामा कार्यरत रहे। विसं. १९९६ विराटनगरमा जन्मेका रिजालले ‘काँडामा हाँसेको जिन्दगी’ मा उसबेलाको विकट नेपाल र आफ्नो व्यक्तिगत जीवनयात्रालाई समेटेका छन्।

शनिबारको पलेँटीमा रिजालले भोगेको त्यही समय र उनको गीति तथा कविता यात्राको चर्चा भएको थियो। कार्यक्रममा उनले रचना गरेका आठवटा गीतहरू प्रस्तुत भएका थिए। सांगीतिक माहोलमा साहित्यिक चर्चा समेटिएकोले नेपालयको ‘आर’ शालाले नियमित पलेँटीभन्दा फरक परिवेशको झल्को दिइरहेथ्यो।

कार्यक्रमको शुरुवात रिजालको शब्दमा नारायण गोपालले गाएको गीत ‘केही मीठो बात गर’ बाट भएको थियो। सँधै नारायण गोपालको स्वरमा सुनेको गीत गायिका मीना निरौलाले गायिकी थिइन्। दोस्रो प्रस्तुति पनि नारायण गोपालकै स्वरमा प्रसिद्ध बनेको गीत थियो। ‘यसैगरि बिताइदिन्छु दुईदिनको जिन्दगी’ बोलको गीतलाई योगेन्द्र उपाध्यायले गाएर सुनाएका थिए।

रिजालसँग गीत संगीतका प्रसंगसँगै नारायण गोपालसितको संगतको चर्चा शुरु भएपछि कार्यक्रमले झन् रोचक मोड लिएको थियो। कार्यक्रम संचालकले गीति लेखनको पृष्ठभूमि कोट्याउँदै रिजालको गीति लेखनको अतीत सुन्ने जिज्ञासा राखेपछि रिजाल झन् खुल्दै गएका थिए-‘म सूचना विभागमा हुँदा नारायण गोपालसँग नियमित भेटघाट हुन्थ्यो। गीतका बारेमा चर्चा हुँदा म पनि उहाँसँग तिनका स्थायी, अन्तराका बारेमा आफ्ना धारणा राख्थेँ।’

उनले भने, ‘सानैदेखि गीत, संगीत, गायन मेरो रुचिको विषय भएकोले आफूलाई लागेको कुरा भन्थेँ। त्यही कुराकानीले मलाई गीति लेखनमा फसायो। नारायण गोपालको गीत लेख्नै पर्छ भन्ने आदेश नै दिनुभयो र मैले गीत लेख्न छोडेको २० वर्षपछि ढोका बन्द गरेर घोत्लिँए’ एक्कै दिन दुईवटा गीत लेखेँ। ‘आँखा छोपी नरोऊ भनी’ र ‘झरेको पात झैँ भयो’।‘

रिजाल बोलीमा नारायण गोपालसँगको उनको सिर्जनात्मक निकटताको झलक अनुभूत गर्न सकिन्थ्यो। रिजालका प्रसिद्ध गीतको रचना गर्भसँगै मीनाले तिनै दुई गीत प्रस्तुत गरिन्। यसपछि कार्यक्रमले दोस्रो मोड लियो। यो मोडमा काली प्रसाद रिजालको प्रभावशाली कविता वाचन आरम्भ भयो। आफू सरकारी ओहोदामा हुँदा नेपालको पश्चिमी बादीबस्तीमा पुगेको कारुणिक सस्मरणसँगै रिजालले ‘हामरी बिटियाको नत्था तोडिदिनुहोस्’ सुनाए।

देह व्यापारको विवश दृश्य अंकित उनको कविताले दर्शकका आँखा रसाइरहेका देखिन्थे। रिजालको कविता वाचन सुन्दा यस्तो लाग्थ्यो उनीको आवाजमा बादीबस्तीकै बुढी महिला गुञ्जिरहेकी छन्। लाग्थ्यो-कालीप्रसाद कविता वाचनमार्फत् स्वरको कुशल अभिनय गरिरहेछन्। रिजालले सुनाएका सबै कवितामा उनको वाचन शैलीको मौलिकता झल्कन्थ्यो।

कविता वाचनको लगत्तै उनको सस्मरणात्मक जीवनकथा ‘काँडामा हाँसेको जिन्दगी’ र उनको काव्यिक व्यक्तित्वमाथि समालोचक रजनी ढकालले समीक्षात्मक टिप्पणी गरेकी थिइन्। पुस्तकका अनेक प्रसंगहरूको उद्दरण गर्दै समालोचक ढकालले पुस्तकमा रिजालको व्यक्तित्व विकाससँगै त्यसबेलाको समाजको चित्रण रहेको प्रष्ट्याइन्। ‘यो पुस्तक पढेपछि सफलता प्राप्त गर्न मान्छेले कसरी संघर्ष गर्दोरहेछ भन्ने पाटो खुल्छ।

यो पुस्तक संघर्षबाट उचाइमा पुगेको व्यक्तिको कथा त हुँदै हो, साथै त्यसबेलाको परिवार र समाज झल्काउने कृति पनि हो’ रजनी टिप्पणी गर्दै हुन्छिन्- ‘यो पुस्तक पढेपछि कालीप्रसाद रिजाल दाइप्रति मेरो आदरभाव झन् बढेर आएको छ। म एउटी महिला हुँ, आमा हुँ, उहाँले आफ्नी आमाप्रति देखाएको समर्पण भावले अत्यन्तै प्रभावित भएँ। महिलाप्रतिको उहाँको दृष्टि भरखर सुनेको कविता ‘हामरी बिटियाको नत्था तोडिदिनुहोस्’बाट पनि अनुमान गर्न सकिन्छ।’

टिप्पणीकै क्रममा उनले थपिन् ‘काली दाइलाई सफल बनाउन अजिता भाउजुले गरेको त्यागको झलक पनि यो पुस्तकमा छ। तर उनीबारे अझ अलि बढी पढ्ने लोभ चाहिं बाँकी रहन्छ’ रजनीको सामान्य आलोचनात्मक टिप्पणी थियो। त्यसपछि ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक गरिएको थियो।

साहित्यकार रिजालले दर्शक दीर्घामा उपस्थित मध्ये आफ्नी नातिनी अपूर्वालाई पुस्तक उपहार दिएर कृति सार्वजनिक गरेका थिए। उनले नातिनीमार्फत् नयाँ पुस्तामा आफ्नो कथा पुगोस् भन्ने धेयले विमोचनको यस्तो शैली अपनाएको प्रष्ट्याए।

पुस्तक विमोचन कार्यक्रम नेपालय पब्लिकेसन्स र पलेँटीको संयुक्त आयोजनामा भएको थियो। नेपालय पब्लिकेसन्सले बजारमा ल्याएको पुस्तक सार्वजनिक भएसँगै साहित्यकार रिजालले रचेको गीत ‘झर्‍यो जिन्दगी, टुट्यो जिन्दगी’ प्रस्तुत भएको थियो। पुस्तको शीर्षक नारायण गोपालले गाएको त्यसै गीतको अन्तराबाट लिइएको हो।

कार्यक्रमको अन्तिम चरण सांगीतिक प्रस्तुति र कविता वाचन हुँदै अघि बढेको थियो। रिजालले वाचन गरेको पजेरो सम्बन्धि कविताले नेपाली राजनीतिको सुविधाभोगी प्रवृत्तिमाथि व्यंग्य गरेको थियो। कार्यक्रममा प्रस्तुत भएका पुराना गीतमा नारायण गोपालका संगीतलाई मात्र समेटिएको थियो। पछिल्लो चरणमा प्रस्तुत रिजालका दुईवटा नयाँ रचनामा भने संगीतकार आभासले धुन भरेका थिए। ती दुई रचना मध्ये शहरसँग सम्बन्धित ‘यतै घर उतै घर जता हेर्‍यो घरैघर, यो शहरमा ओत लाग्ने ठाउँ छैन कतै तर’ गीत र ‘कति खाली च्याउँछ्यौ सँधै भित्रबाट’ गजल शैलीका रचना थिए।

कार्यक्रमको समापनमा गायक फत्तेमानलाई सम्झना गर्दै ‘बनै खायो डँढेलोले’ प्रस्तुत गरिएको थियो। रिजालको पलेँटीमा वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, प्रकसनमा सुन्दरकुमार महर्जन र गीटारमा सुरज प्रधान रहेका थिए।

अंग्रेजी महिनाको अन्तिम हप्ता संचालन हुँदै आएको पलेँटी आइतबार पनि हुँदैछ। आइतबारको  सांगीतिक माहोलमा मञ्जुलको गीति-यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक हुने कार्यक्रम रहेको कुरा आयोजक संस्था नेपालयले जानकारी गराएको छ।


ताजा खबर